काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मोर्चाको बैठकले माघ १६ गते मोर्चाको तर्फबाट कार्यक्रम गर्ने निर्णय भएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जानकारी दिएका छन् ।
बैठकका निर्णय जानकारी दिदै उनले भने- 'माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गरौं भन्ने निर्णय भएको छ । हाम्रा पार्टीका आन्तरिक कामका कारण समाजवादी मोर्चा थोरै धिमा गतिमा बस्यो । अब त्यसलाई अघि बढाउने प्रतिवद्धता भएको छ ।’
त्यस्तै, यसबीचमा समाजवादी मोर्चाका बैठक र कार्यक्रम सुस्त भएकोबारे गम्भीर समीक्षा भएको पनि उनले जानकारी दिए ।
समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए ।
माओवादी केन्द्र सत्ताबाट प्रतिपक्षमा पुगेपछि पहिलो पटक आज समाजवादी मोर्चाको बैठक बसेको हो ।
समाजवादी मोर्चाको बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेकपा समाजवादी, जसपालगायतका दलहरु सहभागी थिए ।