Public Pana
परराष्ट्रमन्त्री राणाको इजरायली विदेशमन्त्रीसँग टेलिफोन वार्ता, विपिनको रिहाईमा सहयोग गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्ना इजरायली समकक्षी इजरायलका विदेशमन्त्री गिदोन सारसँग टेलिफोन वार्ता गरेकी छन् ।

टेलिफोन वार्ताको क्रममा परराष्ट्रमन्त्री राणाले ७ अक्टोबर २०२३ मा इजरायलमा भएको आक्रमणमा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाइको लागि इजरायली सरकारबाट अधिकतम सहयोग र सहयोगको लागि अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्री राणाले जारी वार्ता सकारात्मक रूपमा टुङ्गिने र बहुप्रतिक्षित युद्धविराम हुने आशा पनि व्यक्त गरेकी थिइन् ।

इजरायलका विदेशमन्त्री सारले जोशीको रिहाइको सन्दर्भमा प्रयासहरू जारी रहेको कुरामा जोड दिएको परराष्ट्रले जानकारी दिएको छ । सो कुराकानीमा उनले नेपाली विद्यार्थी जोशीको रिहाइको लागि हरेक सम्भव प्रयास भइरहेको इजरायल सरकारको प्रतिबद्धता दोहोर्‍याएका थिए ।

जोशीको सुरक्षित रिहाइ र स्वदेश फिर्ताको लागि सरकारको चासोको सम्बन्धमा परराष्ट्रमन्त्रीले अमेरिका, कतार र इजिप्टका आफ्ना समकक्षीहरूसँग सम्पर्क गर्ने योजना पनि बनाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update