काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
न्यायाधीश माधव अधिकारीको इजलासमा रविको बयान भएको हो । बयान सकिएसँगै थुनछेक बहस आजैबाट सुरु हुने अदालत स्रोतले जनाएको छ । उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ ।
गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर छुटेका रवि आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । रवि सहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।
सो सहकारीबाट गोर्खा मिडियामा ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ ।
पोखराको सूर्य दर्शन सहकारी ठगीमा कात्तिक २ गतेदेखि प्रहरीको हिरासतमा रहेका लामिछाने गत बिहीबार न्यायाधीश नीतिज राईको इजलासको आदेश अनुसार बिहीबार राती परिवारको साथमा छुटेका थियो । सो सहकारीमा मुछिएका सातै जनालाई धरौटी माग गरिएको थियो । कास्कीबाट छुटेका रविविरुद्ध अब काठमाडौंसहित चितवन, रुपन्देही र पर्सामा पनि मुद्दा दायर हुँदैछ ।