Public Pana
राजकिशोर यादव र प्रेम सुवालबीच के विषयमा भयो विवाद ?

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र सांसद प्रेम सुवालबीच विवाद भएको छ । बिहीबार विहान बसेको बैठकमा सभापति यादव र सांसद सुवालबीच भनाभन भएको हो ।

बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले वास्ता नगरेको भन्दै सांसद सुवालले असन्तुष्टि व्यक्त गरेका थिए । सांसद सुवालले असन्तुष्टि व्यक्त गर्दै गर्दा सभापति यादवले नौटंकी गरेको बताएपछि विवाद बढेको थियो ।

सुवालले समितिका सभापति निरङ्कुश ढंगले चल्न नहुने बताएका थिए भने सभापति यादवले निरंशुक बन्ने भन्दै जवाफ फर्काएका थिए ।

आजको समितिको बैठकमा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि उपसमिति बनाएको विषयमा सुवालले आपत्ति जनाएका थिए । सुवालले बैठकमा उपस्थित नभएको व्यक्तिलाई संयोजक बनाइएको भन्दै विरोध गरेका थिए ।

उनले सभापति यादवलाई सहमति छैन भनेपछि पनि पेलेर चलाउने, कुरा सुन्दै नसुनी निर्णय लिने, राणा शासनको अवतार नलिन भन्दै आक्रोश व्यक्त गरेका थिए ।

आजको समितिको बैठकले नेपाल एयरलाइन्समा देखिएका समस्या समाधान गर्न रास्वपा सांसद शिशिर खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा देखिएका समस्या लामो समयदेखि समाधान हुन नसकेको अध्ययन गर्न उपसमिति गठन गरिएकोसमितिका सभापति राजकिशोर यादवले जानकारी दिएका छन् ।

उपसमितिमा खनालसहित छिरिङल्हामु लामा, योगश गौचन थकाली र सुनिता बराल रहेका छन् । उपसमितिलाई समस्या र समाधानका उपाय सहित विस्तृत अध्यन गरेर प्रतिवेदन पेश गर्न एक महिनाको समय दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update