काठमाडौँ । अमेरिकाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।
मिडिया रिपोर्टका अनुसार आगलागी नियन्त्रणभन्दा बाहिर गएको छ ।
लस एन्जलस काउन्टी अग्नि नियन्त्रक प्रमुख एन्थोनी म्यारोनका अनुसार इटनको आगो अहिले १५,८०० एकडसम्म बढेको छ र यो अझै नियन्त्रणमा आएको छैन ।
उनले भने, 'दुर्भाग्यवश पाँच जना नागरिकको मृत्यु भएको छ र केही घाइते भएका छन्। अहिलेसम्म एक हजारभन्दा बढी घर र भवनहरू क्षतिग्रस्त भएका छन् वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।'
एरिजोना सहित क्यालिफोर्निया बाहिरका अधिकारीहरू अग्नि नियन्त्रकहरूलाई सहयोग गर्न आएका छन् ।
लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर फैलिरहेको छ। आगो फैलिने खतरालाई ध्यानमा राख्दै यहाँ आपतकालीन अवस्था घोषणा गरिएको छ र मानिसहरूलाई सतर्क रहन चेतावनी दिइएको छ ।
अहिलेसम्म यस आगलागीबाट एक लाख ३० हजार भन्दा बढी मानिस प्रभावित भएका छन् ।