Public Pana
अमेरिकामा बर्डफ्लूका कारण पहिलो पटक एक जनाको मृत्यु

काठमाडौँ । अमेरिकामा पहिलो पटक बर्डफ्लुका कारण एक जनाको मृत्यु भएको छ ।

अमेरिकाको लुइसियानामा बर्ड फ्लुका कारण ६५ बर्षका एक पुरुषको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख रहेको छ । उनलाई पहिलेदेखि नै केही स्वास्थ्य समस्या थियो । अहिले सम्म अमेरिकामा बर्ड फ्लुका कूल ६६ जना मानिसमा संक्रमण देखिएको छ र यो लुइसियाना समेत १० राज्य फैलिएको छ ।

लुसियानाको स्वास्थ्य विभागले अत्यधिक संक्रामक एभियन इन्फ्लुएन्जा वा एच५एन१ भाइरसको कारण मृत्यु भएको बताएको छ, जुन व्यक्तिले आफ्नो गैर-व्यावसायिक घरपछाडि बगाल र जंगली चराहरूसँग सम्पर्कमा आएका थिए ।

लुइसियानामा यो पहिलो केस भएको र कुनै अन्य बर्डफ्लू संक्रमणका केसहरू वा मानव-देखि मानव प्रसारणको कुनै प्रमाण नरहेको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

सर्वसाधारणलाई जोखिम न्यून भए पनि चरा, कुखुरा वा अन्य जनावरको सम्पर्कमा आउने मानिसलाई बढी जोखिम हुने चेतावनी दिएको छ । यसका लागि मानिसहरूले जंगली चरा वा संक्रमित जनावरहरूको सम्पर्कबाट टाढा रहनुपर्छ ।

विश्व स्वास्थ्य संगठनले यस वर्ष ७६ जनालाई एच५एन१ बाट संक्रमित भएको जनाएको छ, जसमध्ये अधिकांश खेतीपाती कामदार छन् । यी मध्ये ६० भन्दा बढी केसहरू अमेरिकामा रिपोर्ट गरिएको छ जहाँ वन्यजन्तु र कुखुरामा पनि एच५एन१ को प्रकोप छ । यसबाहेक चीन, अष्ट्रेलिया, क्यानडा, कम्बोडिया र भियतनाममा पनि संक्रमण पुष्टि भएको छ । संयुक्त राष्ट्र संघको एजेन्सीका अनुसार एभियन इन्फ्लुएन्जाले प्रोटिनको लागि कुखुराको स्रोतमा धेरै निर्भर हुने क्षेत्रहरूमा खाद्य र पोषण सुरक्षामा गम्भीर खतरा निम्त्याउने सम्भावना रहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update