Public Pana
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-३ गाभर बस्ने १९ वर्षीय सन्देश साही र सोही गाउँपालिका-३ पितमारि बस्ने २२ वर्षीय प्रकाश बिक रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   

मकवानपुर, मनहरी गाउँपालिका-८ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित राक्सिराङ गाउँपालिका-३ पलासे बस्ने २२ वर्षीय सुदिप तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

रूकुम पूर्व, भूमे गाउँपालिका-७ गुनामबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ५ किलोग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा थवाङ गाउँपालिका-३ उँवा बस्ने ४६ वर्षीया रमिला बुढा र ५० वर्षीया जसमाया बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, कमल गाउँपालिका-४ साधुटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३९ वर्षीय धनराज लिम्बु, २६ वर्षीय रोहित नेम्बाङ र २३ वर्षीय राजेश नेम्बाङ रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा धनराजसँग लागूऔषध खरिद गर्न आएका शिवसताक्षी नगरपालिका-१ बस्ने ३३ वर्षीय सुरेश निरौलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी झापा, मेचीनगर नगरपालिका-१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम, मोबाइल २ थान र नगद ९ हजार ७ सय ४५ रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने २३ वर्षीय ईशाक राई र सोही नगरपालिका-१३ बस्ने ३० वर्षीय सुनिल नगरकोटी रहेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, टिकापुर नगरपालिका-९ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ६० मिलिग्राम सहित जानकी गाउँपालिका-९ पूर्व खैरीफाँटा बस्ने २० वर्षीय निरज जैसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।      

बारा, निजगढ नगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित चितवन राप्ती नगरपालिका-१२ बस्ने ३६ वर्षीय भिम बहादुर तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना. ३९ प १२६७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update