Public Pana
सिरियाको सत्तामा पूर्ण नियन्त्रण लिन अझै असफल विद्रोही नेता

काठमाडौँ । सिरियामा बसर अल-असदको सत्ताच्युत भएपछि स्थापित नयाँ नेतृत्वले ऐतिहासिक राष्ट्रिय संवाद सम्मेलन कहिले गर्ने भन्ने निर्णय गरेको छैन । विभिन्न स्रोतलाई उद्धृत गर्दै मिडिया रिपोर्टका अनुसार विद्रोही नेताहरुले सत्तामा पूर्ण रुपमा कब्जा लिन संघर्ष गरिरहेका छन् ।

हयात तहरीर अल-शाम (एचटीएस) को नेतृत्वमा रहेका विद्रोहीहरूले सम्मेलन आयोजना गर्ने वाचा गरेका थिए । तर, अहिलेसम्म सम्मेलन गर्न सकेका छैनन् ।

सिरियाको नयाँ सत्तारुढ प्रशासनले अहिलेसम्म औपचारिक निमन्त्रणा नपठाएकोले सम्मेलन हुन नसकेको बताइएको छ ।

यस सम्मेलनको उद्देश्य सिरियाका विभिन्न धर्म, जाति, भौगोलिक क्षेत्र र राजनीतिक वर्तमानका प्रतिनिधिहरूलाई असद परिवारको ५० वर्षभन्दा बढी शासनपछि देशको नयाँ भविष्य निर्माण गर्न भेला गर्नु रहेको विद्रोही नेताहरुले बताएका थिए । यद्यपि, केही सिरियाली सञ्चारमाध्यमहरूले यसअघि जनवरी ४-५ मा सम्मेलन हुने जानकारी दिएका थिए, जसमा सिरियाका करिब १२०० प्रतिनिधिहरूलाई निम्तो दिइनेछ ।

यस सम्मेलनको उद्देश्य सिरियामा १३ वर्षको गृहयुद्धपछि भइरहेको राजनीतिक परिवर्तनबारे छलफल गर्नु हो । यसमा विद्यमान संसद् निलम्बन, नयाँ संविधान निर्माण र निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुन सक्छ । तर, यस सम्मेलनको औपचारिक निमन्त्रणा अहिलेसम्म नपठाइए पनि अनौपचारिक रूपमा केही व्यक्तिसँग सम्पर्क भएको बताइएको छ ।

डिसेम्बर ८ को विद्रोहपछि, हयात तहरीर अल-शामले सत्ता लिए र मार्च १ सम्म अत्यावश्यक सेवाहरूको व्यवस्थापन गर्न कामचलाउ सरकार गठन गरे । तर कुनै समय विद्रोही संगठन भएको र अहिले देशको प्रभावकारी शासक भएको यो समूहले आफ्नो सैन्य लक्ष्य र प्रशासनिक जिम्मेवारीलाई सन्तुलनमा राख्न कठिनाइको सामना गरिरहेको छ ।

विपक्षी सदस्यहरूले समावेशी राजनीतिक प्रक्रियाप्रति नयाँ प्रशासनको प्रतिबद्धतामाथि प्रश्न उठाइरहेका छन् । सिरियाली लिबरल पार्टीका प्रमुख बसम अल-क्वातलीले नयाँ प्रशासन अझै पनि एक सैन्य समूह हो जसले सत्ता कब्जा गरेको छ र यसलाई बाँडफाँड गर्ने आवश्यकता महसुस नगरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update