निजी क्षेत्रको वायुसेवा कम्पनी यती एअरलाइन्सले सेवा विस्तार गर्ने क्रममा एटीआर ७२–५०० विमान थप गरेको छ।
यतीको यो छैठौँ विमान हो। नयाँ विमान सोमबार दिउँसो १५ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रियय विमानस्थल काठमाडौंमा अवतरण गरेको कम्पनीले जनाएको छ।
यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो। उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड हुँदै नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाइ सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।
एमएसएन नं. ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो। जम्मा १० हजार साइकल मात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमानभन्दा पछिल्लो विमान भएको कम्पनिले दाबी गरेको छ। एटीआर विमानको जम्मा साइकल ७० हजार हुन्छ।
एक अवतरणलाई एक साइकल गणना गरिन्छ। विमान संख्या थप गरेसँगै कम्पनीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको प्रवक्ता बर्तौलाले जानकारी दिए।
‘विमानको आवश्यक कागजी प्रक्रिया पुरागरी रंगरोगन गरेपश्चात् विमानले दशैँअगाडि नै उडान गर्नेछ, यसले गर्दा दशैंको बेला हुने टिकट अभावलाई पूरा गर्न सहयोग हुने विश्वास लिएका छौँ’, उनले भने।
यही आर्थिक वर्षभित्र अर्को एक विमान थप गर्ने र त्यसपछि नयाँ गन्तव्यहरुमा सेवा विस्तार गर्ने उनले बताए। विमान थप भएपछि ५ वटा विमानलाई आधार बनाई उडान गर्ने र एउटा विमानलाई जगेडामा राखी मर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने कम्पनीले जनाएको छ।
एटीआर ७२–५०० टर्बोप्रप विमानको पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ। ७० सिटको क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ। पीडब्ल्यू१२७ इन्जिनहरूद्वारा सञ्चालित एटीआर ७२–५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ।
अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुनेछ। यो विमानले नयाँ पुस्ताका जेटहरूभन्दा प्रति यात्रु–किमिमा लगभग ५० प्रतिशत कम कार्बन उत्सर्जन गर्दछ र पुराना विमानहरूभन्दा तीन गुणा कम कार्बन उत्सर्जन गर्दछ।
यती एअरलाइन्स दक्षिण एसियामा पहिलो कार्बनन्युट्रल एअरलाइन्स हो। एअरलाइन्सले हाल नेपालको सुगम गन्तव्यहरु काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरु गर्दै आएको छ भने अन्तर्राष्ट्रियतर्फ चार्टर्ड र नन सेड्युल उडान गर्ने अनुमति पाएको छ।