Public Pana
रवि लामिछानेसहितको मुद्धामा सकियो सरकारी वकिलको बहस

 सहकारीको बचत अपचलन प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित सातजनालाई भिन्नभिन्न मुद्दामा सजाय माग गर्दै सरकारी वकिलको बहस सकिएको छ । मंगलबारदेखि सरकारी वकिलको बहस सुरु भएको थियो । थुनछेक बहसमा सुरुमा सरकारी वकिलहरूले बहस गरेका हुन् ।

बुधबार सरकारी वकिलको कार्यालय कास्की र मुख्यन्यायधिवक्ताको कार्यालयबाट आएका सरकारी वकिलहरूले बहस गरेका थिए । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा दोस्रो दिन न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपीनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका हुन् । मंगलबार भने सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेकी थिइन् ।

बहसका क्रममा उनीहरूले अभियोगपत्रमा दायर भएअनुसार नै कारबाही हुनुपर्ने बताए ।

सरकारी वकिलको बहस सकिएसँगै अब बिहीबार जाहेरवालाका कानुन व्यवसायीले बहस गर्नेछन् । जाहेरवाला सहकारी पीडितका कानुन व्यवसायी पराजुली लगायतले बहस गरेपछि प्रतिवादीका कानुन व्यवसायीले बहस गर्नेछन् ।

लामिछानेलाई सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीमा कारबाही हुनुपर्ने र बिगो समेत भराउनुपर्ने भन्दै गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोगपत्र दायर गरेको थियो ।

सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी संचालक लगायत व्यक्तिविरूद्ध शुरुमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update