Public Pana
अजरबैजान एयरलाइन्स दुर्घटना बारे पुटिनले मागे माफी

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बर २५ मा काजकिस्तानमा दुर्घटनाग्रस्त अजरबैजान एयरलाइन्सको विमानलाई रुसको हवाई क्षेत्रमा 'दुःखद घटना' भएको भन्दै माफी मागेका छन् ।

पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभसँग टेलिफोन कुराकानीमा माफी मागेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । पुटिनले अलीयेभलाई अजरबैजानी एयरलाइन्सको विमान ग्रोज्नीमा अवतरण गर्न खोज्दा दुर्घटना हुनुअघि रुसी वायु सुरक्षा सक्रिय भएको बताएको रिपोर्टमा उल्लेख छ ।

पुटिनले अलीयेभलाई भने- 'यस समयमा, ग्रोज्नी, (शहर) मोजडोक र भ्लादिकाभकाजमा युक्रेनी लडाकु ड्रोनहरूद्वारा आक्रमण भइरहेको थियो र रूसी वायु रक्षाले यी आक्रमणहरूलाई फिर्ता गरिरहेको थियो ।'

अजरबैजान एयरलाइन्सको विमान ग्रोज्नीबाट डाइभर्ट गरेर कजाकिस्तानको अकताउ शहर नजिकै खसेको थियो, जसमा ३८ जनाको मृत्यु भएको थियो भने २९ जनाको सकुशल उद्धार गरिएको थियो । पुटिनले रुसले अजरबैजान एयरलाइन्सलाई मिसाइल आक्रमण गरे नगरेको भने स्पष्ट नगरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update