Public Pana
नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई विराटनगर किंग्सले हरायो,विराटनगरको प्लेअफ सम्भावना कायमै

नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई विराटनगर किंग्सले हराएको छ । चितवनका लागि अमरसिंह राउटेलाले सर्वाधिक ४२ रन जोडे । उनले २९ बलमा ३ चौका र २ छक्का जोडे । सन्तोष कार्कीले २५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन जोडे । सन्तोष सन्दीप लामिछानेको बलमा बसिर अहमदबाट क्याच आउट भए । सन्तोषले चौथो ओभरको अन्तिम बलमा जीवनदान पाएका थिए । प्रतिस जिशीको बलमा सन्तोषलाई बाउन्ड्रीमा रहेका बसिर अहमदले क्याच मिस गरेका थिए । त्यस समयमा सन्तोषले ७ रन बनाएका थिए ।

कप्तान कुशल मल्लले २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । कुशल क्रिस सोलको बलमा प्रतिस जिशीबाट समातिए । रवि बोपारा २४ बलमा २० रन जोड्दै सुवास भन्डारीको बलमा बोल्ड आउट भए ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले २ तथा क्रिस सोल, बसिर अहमद र सुवास भन्डारीले समान १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको थियो ।

विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडेका थिए । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । प्रतियोगिताको आफ्नो पहिलो अर्धशतक उनले ३९ बलमा पूरा गरेका थिए ।

पाँचौ विकेटका लागि ओपनर मार्टिन गप्टिल र अहमदले ६५ रनको साझेदारी गरे । गप्टिलले ३५ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४५ रन बनाए‌। उनी कुशल मल्लको बलमा बोल्ड आउट भए । राजेश पुलामी मगरले नट आउट ३३ रन बनाए । उनले २० बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

छैठौं ओभरका लागि अहमद र राजेशले ८३ रनको साझेदारी गरे । विराटनगरले अतिरिक्तमा २३ रन पाएको थियो । विराटनगरले पछिल्लो ५ ओभरमा ७४ रन बनाएको थियो ।

चितवनका लागि रिजन ढकालले २ तथा बासिल हमिद, कुशल मल्ल र सोहेल तन्भिरले समान १ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update