Public Pana
माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने

DPM-krishna-bahadur-mahara-media-speaking-21970271675075630.jpg नेकपा माओवादी केन्द्रको आगामी बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे छलफल हुने भएको छ सोमबार बसेको पदाधिकारी बैठकले सोमबार र मंगलबार आन्तरिक तयारी गरेर बुधबार स्थायी समिति बैठक राख्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

उनका अनुसार बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे छलफल हुनेछ । गृहमन्त्री सरकारको भएकाले कसलाई बनाउने भन्ने टुंगो लगाउने जिम्मा प्रधानमन्त्रीको रहेको भन्दै उनले बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे पनि छलफल हुने जानकारी दिएका हुन् । 

नेपाली नागरिकताले वैधानिकता नपाएपछि रवि लामिछाने पदमुक्त भएसँगै गृहमन्त्री पद रिक्त रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन् । 

तर, गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले नै पाउनुपर्ने अडान लिएको छ भने उसलाई एमाले पनि साथ दिएको छ । तर, गृहमन्त्रालय आफैंसँग राख्ने माओवादीको पनि तयारी छ । 

सोमबार बसेको पदाधिकारी बैठकबाट बाहिरिने क्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री बनेपछि मात्र को बन्ने भन्ने थाहा हुने प्रतिक्रिया दिएका छन् । कसलाई गृहमन्त्री बनाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले बनेपछि थाहा हुने बताए । 

पार्टी मुख्यालयमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकमा संगठनसहितका विषयमा केन्द्रित भएको प्रवक्ता महराले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update