Public Pana
बस दुर्घटनामा आफ्ना नागरिकको अवस्थावारे जानकारी लिन भारतीय केन्द्रीय मन्त्री काठमाण्डौंमा

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एक केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाएको छ । 
प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आइपुगेकी छन । उनका साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आएको भारतीय संचार माध्यामहरुले जनाएका छन् ।

राज्यमन्त्री खड्सेले आज महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेर घाइतेलाई भेट्ने र थप उपचारका लागि भारत लैजानेवारे निर्णय गर्ने बताइएको छ । मृतकलाई बिशेष व्यवस्था मार्फत भारत लैजाने तयारी समेत गरिएको छ । 

घाइते १६ भारतीय यात्रीको महाराजगंजस्थित टीचिंग अस्पतालमा उपचार हुदैछ ।  घाइते यात्रुको उपचारको लागि टीचिंग अस्पताल प्रशासनले विशेष व्यवस्था गरेको छ । दुर्घटनामा परेर सामान्य घाइते भएका ३ जनालाई काठमाडौँस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update