Public Pana
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फेरी फुट्ने तयारीमा, ३ सांसदले थाले गृहकार्य

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फेरी फुट्को संघारमा पुगेको छ । अशोक राई नेतृत्वको समुह अलग भएपछि ५ सांसदमा खुम्चिएको यादव नेतृत्वको जसपा नेपालभित्र विभाजनको तयारी भइरहेको स्रोतको दावी छ ।

अध्यक्ष यादवले पार्टीलाई आफ्नो स्वार्थमा चलाउने गरेको र विभाजनपछि पनि उनले आफ्नो कार्यशैली सुधार नगरेपछि पार्टीमा रहेका ३ जना सांसद उनको नेतृत्वमा पार्टिमा बस्ने अवस्था नरहेको भन्दै नयाँ दल दर्ताको तयारीमा जुटेको असन्तुष्ट समुहका एक नेताले जानकारी दिए ।

नयाँ दल दर्ता ऐन अनुसार दुई वा दुई भन्दा बढी सांसदले चाहेमा निर्वाचन आयोगमा निवेदन दिएर अलग हुने सक्ने व्यवस्थामा टेकेर यादव नेतृत्वमा रहेका ३ सांसदले नयाँ दल दर्ता गराउने तयारी गरेको स्रोतले बतायो । पार्टीभित्र असन्तुष्टी बढेपछि अध्यक्ष यादवले आइतवारदेखी केन्द्रिय समिति वैठक बोलाउन लगाएपनि अधिकांस नेताहरु पार्टीमा बस्ने मनस्थितिमा नरहेको ति नेताको भनाई छ ।

पार्टी बनाउने भन्दा पनि अध्यक्ष यादव आफ्नो स्वार्थमा मात्र केन्द्रित हुने गरेको र प्रदेश तथा जिल्लास्तरका संगठन समेत कमजोर अवस्थामा पुगेको असन्तुष्ट समुहको भनाई छ ।

विभाजन भएर नयाँ दल दर्ता गर्ने र अशोक राई नेतृत्वको पार्टीमा मर्ज हुने गरि असन्तुष्ट समुहले गृहकार्य गरिरहेको कुनै समय यादव निकट रहेका ती नेताले बताए । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update