Public Pana
मनसुन सक्रिय, केही प्रदेशमा भारी बर्षाको सम्भानवा, ३४ जिल्लामा रेड अलर्ट जारी

हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। 

मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको छ ।

यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको संकेत स्वरुप यलो अलर्ट जारी गरेको छ ।

देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोशी,बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा देशका बाँकी  भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको  पनि सम्भावना रहेको छ र कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update