Public Pana
अशोक राईको राजनीतिक प्रतिवेदन : उपेन्द्र यादवमाथि आराेपै आराेप

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले संगठनात्मक क्षेत्रमा सामूहिक नेतृत्व प्रणालीलाई प्रणालीको रूपमा नभइ स्वेच्छिक रूपमा प्रयोग गर्ने अवस्थाका कारण पार्टी विभाजन भएको बताएका छन् ।

जसपा नेपालबाट विभाजन भइ बनेको जसपाको पहिलो केन्द्रीय समितिको बैठकमा अध्यक्ष राईले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै जसपा नेपालमा आत्मकेन्द्रित स्वेच्छाचारी प्रवृत्ति व्याप्त रहेको टिप्पणी गरेका छन् ।

उनले प्रतिवेदनमा भनेका छन्, ‘मन लागेमा प्रणाली प्रक्रियाको कुरा गर्ने, मन नलागे आफू खुसी गर्ने । पार्टीको मुख्य नेतृत्व नै प्रदेश र स्थानीय तहका जिम्मेवारहरूको कार्यक्षेत्र समेत मिचेर उनीहरूको जानकारी बेगर वडा तहसम्म पुगेर सबै संगठन आफ्नै मुट्ठीभित्र राख्ने अभ्यासमा व्यस्त रह्यो ।’

पार्टीभित्रका अन्तरविरोधहरूको समाधान गर्ने होइन, आफूलाई अनुकूल हुने पक्षलाई उचालेर झन् चर्काउने र गुटको आधार सिर्जना गर्ने कार्य जसपा नेपालको नेतृत्वबाट भएको उल्लेख गर्दै अध्यक्ष राईले नेतृत्व आफैँ खुला वा छद्म रूपमा झगडाको कारक बन्ने र पार्टीलाई अन्तरविरोधहरूको गुजुल्टो बनाउने अवस्थामा पु-याएको आरोप लगाएका छन् ।

एउटा नेताविरुद्ध अर्को नेतालाई प्रयोग गर्ने काम जसपा नेपालमा भएको बताउँदै उनले कसैलाई विश्वास नगर्ने र आफू पनि विश्वास गर्न लायक काम नगर्ने परिपाटी देखिएको उल्लेख गरेका छन् । अपारदर्शी, रहस्यमय कार्यशैलीको कारण कसैसँग खुला दिलले खुलस्त व्यवहार नगर्नेजस्ता कार्य नेतृत्व (उपेन्द्र यादव)बाट भएको उनको जिकिर छ ।

अध्यक्ष राईले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘आज एउटालाई विश्वास पात्र र नजिक बनायो, केही काम गरायो, अनि के कुरामा मानभाउ पुग्दैन, त्यसलाई आलोचना सुझाव सहयोग केही नगरी एकैचोटी जिम्मेवारीविहीन बनाउने । पार्टीलाई र आन्दोलनलाई फाइदा नोक्सान के छ ? कुनै सोचाई नराख्ने, केवल व्यक्तिगत रूपमा मन पर्यो, परेन भन्ने आधारमा व्यवहार गर्ने । कुनै प्रक्रियाको पालना गर्नु नपर्ने । उस्तै परे वैकल्पिक व्यक्ति खडा गरेर विरोधमा उफार्ने । यस्तो काम गराईले पार्टीका नेता कार्यकर्ताहरूको मनोविज्ञान थिलथिलो भएर क्रियाशिलतामा शिथिलता छाउने अवस्था रह्यो ।’

काममा सक्रियता र परिणाममा सफलताका आधारमा होइन, आफूले जे भन्यो, त्यो मान्छे मान्दैन भन्ने आधारमा व्यक्तिको मूल्याङ्कन गर्नाले कार्यक्षेत्र र जनताको बिचमा काम गर्नेभन्दा नेताको वरिपरि घुम्ने प्रवृत्तिले प्रोत्साहन भएको दाबी गर्दै उनले नेतृत्वभित्र वैचारिक कामलाई महत्त्व नदिने अर्को गम्भीर प्रवृत्ति व्याप्त रहेको टिप्पणी गरे ।

पार्टीको निर्णय इच्छा विपरीत भए त्यसलाई कार्यान्वयन नगर्ने, झुठो बोल्ने, ढाँट्ने, समस्या पर्दा रुने, खुट्टा समाउने अनुकूल भएपछि थिचोमिचो गर्ने विचित्रको नाटकीय कार्यशैलीले गर्दा नेतृत्वको ओज र विश्वसनीयता धराशायी भएर गएको उल्लेख गर्दै अध्यक्ष राईले इर्ष्यावस कसैको प्रगति देख्न नसक्ने, खुट्टा तान्ने, नेता कार्यकर्ताहरूको असल कामको प्रशंसा गर्न पनि नेतृत्व पंक्तिबाट कन्जुस्याइँ भएको बताएका छन् ।

उनले कुनै पदमा जीवनभर रहने होइन, काममा प्रतिस्पर्धाबाट योग्य र नयाँनयाँ प्रतिभाहरू नेतृत्वमा पुग्न सक्ने प्रणाली भएको पार्टी बनाउनुपर्ने कुरामा पनि जोड दिएका छन् ।

उपेन्द्र यादवबाट छुट्टिएको जसपाको केन्द्रीय समिति बैठकमा १२१ केन्द्रीय सदस्य उपस्थित
अध्यक्ष राईले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘पार्टी एकतालाई सुदृढ गर्ने, जोगाउनेतिर भन्दा पनि बसे मेरो इच्छा अनुसार चल्नु, नत्र पार्टी छोड्नु भन्ने खालको व्यवहार पनि देखियो ।’

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update