Public Pana
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ ।

अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो । “जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो, फेबु्रअरी र मार्च सिजन भएकाले पर्यटकले बुकिङ गरेका थिए ।

तर विमान दुर्घटनापछि बुकिङ रद्द हुन थालेक छन्”, रेवान पोखराका अध्यक्ष एवं होटल माउण्ट कैलाशका सञ्चालक नरेश भट्टराईले जानकारी दिनुभयो । “अहिले झण्डै ४० प्रतिशत बुकिङ रद्द गर्दै २० प्रतिशतमा झरेको छ, अझै रद्द गर्ने क्रम जारी छ”, उहाँले भन्नुभयो ।

हवाई दुर्घटनाको असरले गर्दा उडानका लागि मानसिकरुपमा तयार हुन नसक्नु, सडक पूर्वाधार व्यवस्थित र सहज नहुनु जस्ता कारणले पर्यटक घटेको उहाँको भनाइ छ । यतिबेला पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पनि बुकिङ रद्द गर्न थालेका छन् ।

होटल सरोवरका सञ्चालक प्रतीक पहारीले पछिल्लो समय आन्तरिक पर्यटकको आगमन उल्लेख्य देखिएकोमा विमान दुर्घटनापछि यो सङ्ख्या घटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विमान दुर्घटनापछि मानिसहरु मानसिकरुपमा घुम्न तयार छैनन्, कति कार्यक्रम लागि बुकिङ भएका थिए तर बुकिङ रद्द भइरहेका छन् ।” उहाँका अनुसार होटल सरोवरमा जनवरीमा ६० र फेबु्रअरीमा ७० प्रतिशत कार्यक्रम बुकिङ भएका थिए, अहिले २० प्रतिशतमा झरेको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनसँगै उत्साहित भएका पर्यटन व्यवसायी माघ १ को घटनापछि भावात्मक र व्यावसायिकरुपमा समेत दुखी भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ ।

पर्यटकीय सिजनका लागि बुकिङ गरिएका कतिपय होटलमा बुकिङ रद्द भइरहेका छन् ।” उहाँले हवाई उडान सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउनुपर्ने साथै सडक पूर्वाधारमा पनि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटलमा ३०÷४० प्रतिशत बुकिङ रहेको दुर्घटनापछि झरेर १०÷१५ प्रतिशतमा पुगेको बताउनुभयो । “ विस्तारै चलायमान हुँदै गरेको पर्यटन क्षेत्र जहाज दुर्घटनापछि पुनः सुस्ताएको छ ।

सडक पूर्वाधार राम्रो छैन त्यसैले अधिकांशले हवाईमार्ग प्रयोग गरेर घुम्न आउने गर्थे दुर्घटनासँगै हवाई मार्ग प्रयोग गर्न पर्यटक तयार देखिएका छैनन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका सात सय र पोखरा आसपास गरी १२ सय पर्यटकीयस्तरका होटल छन् ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update