Public Pana
कोसी र बागमतीका केही ठाउँमा वर्षा हुँदै, दिउँसो र राति ४ प्रदेशमा पानी पर्ने अनुमान

हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। 

यतिबेला (शुक्रबार बिहान) कोसी प्रदेशमा साधारणतया बदलीको छ। मधेस र बागमती प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।  

कोसी प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

 

आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। 

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशसहित देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

आज राति कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update