Public Pana
नेपालले खेल्न नपाउँदा दक्षिण अफ्रिकालाई फाइदा, बन्यो ‘सुपर–८’ मा पुग्ने पहिलो टोली

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ ।

विश्वकपअन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्द भएसँगै दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा प्रवेश गरेको हो । 

 

 

समूहगत चरणको अन्तिम खेल खेल्नुअघि नै दक्षिण अफ्रिका अघिल्लो चरणमा पुगेको हो । समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले आफूले खेलेको अघिल्ला तीनवटै खेलमा जित हात पारेको छ । दक्षिण अफ्रिका ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । 

दुई खेल खेलेको बङ्गलादेश दुई अङ्कसहित दोस्रो र दुई खेल खेलेको नेदरल्यान्ड्स दुई अङ्कसहित तेस्रो स्थानमा छन् । दुई खेल खेलेको नेपाल भने एक अङ्कसहित तालिकाको चौथो स्थानमा छ । तीन खेल खेलेको श्रीलङ्काले पनि एक अङ्कमात्र बटुल्न सकेको छ । 

समूह ‘डी’ को बाँकी खेलमा अब बङ्गलादेशले नेदरल्यान्ड्स, नेपालले दक्षिण अफ्रिका, बङ्गलादेशले नेपाल र नेदरल्यान्ड्सले श्रीलङ्काको सामना गर्नेछन् । उक्त समूहमा अब बङ्गलादेश र नेदरल्यान्ड्समध्ये एक टोलीको मात्र ६ अङ्क पुग्न सक्ने सम्भावना छ ।

त्यसैले यसअघि नै तीन खेलबाट ६ अङ्क बटुलिसकेको दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुगेको हो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले, दोस्रो खेलमा नेदरल्यान्ड्सलाई चार विकेटले र तेस्रो खेलमा बंगलादेशलाई चार रनले हराएको थियो ।

यसअघि एसियाली राष्ट्र ओमान नवौँ टी–२० विश्वकपको उपाधि होडबाट बाहिरिने पहिलो टोली बनेको थियो । समूह ‘बी’ मा रहेको ओमानले सुरुको तीनवटै खेलमा हार भोगेको छ । नेपालले भने अब आफ्नो दुवै खेल क्यारेबियन राष्ट्रमा खेल्नेछ । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update