Public Pana
भारत र पाकिस्तानको भिडन्त आज

 आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत आज भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुकी ८ः१५ बजे न्यूयोर्कको नासाउ काउन्टी क्रिकेट रंगशालामा सुरु हुनेछ ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई हराएपछि भारतले यस संस्करणको आफ्नो दोस्रो खेल आज खेल्दैछ । अर्कोतर्फ पाकिस्तानले सुपर आठको आशा जीवित राख्न आज जित्नै पर्ने हुन्छ । पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो ।

भारतले र पाकिस्तानले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ पटक मात्र एकअर्का सँग खेलेका छन् जसमध्ये भारतले ९ खेल जितेको छ र पाकिस्तानले ३ खेल जितेको छ ।

सन् २००७ मा एमएस धोनीको कप्तानीमा भारतले टी-२० विश्वकपको उद्घाटन संस्करण जितेको थियो । पाकिस्तानले अर्को संस्करण २००९ मा युनिस खानको कप्तानीमा उपाधि उचालेको थियो ।

पुरुष टी–२० विश्वकपमा भारतले ४५ मध्ये २८ खेल जितेको छ । पाकिस्तानले ४८ मध्ये २८ खेल जितेको छ । तर, हालैको प्रतियोगितामा पाकिस्तानको प्रदर्शन राम्रो रहेको छ । पाकिस्तान २०२१ मा सेमिफाइनलमा पुगेको थियो भने २०२२ मा उपविजेता रहेको थियो । भारत २०२१ मा अन्तिम चारमा पुग्न सकेन भने २०२२ मा सेमिफाइनलमा पराजित भयो ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update