Public Pana
मन्त्रीलाई लाइन बस्न सिकाउने सुरक्षा गार्डलाई रबि लामिछानेले हिरासतमै भेटे, दण्ड नभई पुरस्कृत गर्न माग

 

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पर्यटनमन्त्री जीवनराम श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जेल पठाएका सुरक्षागार्ड शेरजंग गुरुङसँग भेटवार्ता गरेका छन् ।

गुरुङलाई राखिएको प्रहरी कार्यालय, दरबारमार्गमा पुगेर उनले गुरुङसँग भेटवार्ता गरी  धन्यवाद समेत दिएका थिए । 

लामिछानेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङसँगको भेटबारे जानकारी गराउँदै लेखेका छन्–”प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग भेटेर उनलाई धन्यवाद दिएर आएको छु किन भने कानुन सबैलाई बराबर हुन्छ।

शेरजंग भन्छन् “गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन यदि थाहा भए पनि मेरो डिउटी त गर्नै पर्यो।” यदि उनको भनाइ सत्य हो भने उनलाई हिरासतमा राख्ने होइन ससम्मानसहित रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्।”

शुक्रवार ठमेलस्थित छायाँ सेन्टरमा रहेको एफएस ग्लोबल भिसा सेन्टरमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई छायाँ सेन्टरस्थित भिसा सेन्टरमा लाइनमा बस्‍नुस् भन्दा  गुरुङ पक्राउ परेका हुन । 

पक्राउ परेका गुरुङलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ५ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update