Public Pana
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण : सम्बन्ध सुधार गर्ने बहाना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा गएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ ग्रहण गर्ने भएकाले सोही कार्यक्रममा भाग लिन प्रधानमन्त्री प्रचण्ड आइतबार भारत प्रस्तान गरेका हुन् । 

 

प्रधानमन्त्री प्रचण्ड सोमबार नेपाल फर्किने कार्यक्रम छ । उनले भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटघाट गर्ने बताइएको छ । 

स्रोतका अनुसार प्रचण्ड र मोदीबिच एक्लाएक्लै भेटको समय तय भएको छ । भेटमा दुई देशको समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग बनाएपछि भारतले चित्त दुखाएको टिप्पणी भइरहेको छ ।

कूटनीतिक मामिलाका जानकारहरूका अनुसार भारतको चाहना विपरीत गठबन्धन हुनुमा भारतले नेपालको राजनीतिमा चीनको प्रभाव बढेको अर्थमा बुझ्न थालेको छ ।

भारतले वर्तमान सत्ता गठबन्धनलाई नरुचाएको प्रधानमन्त्री प्रचण्डले पनि महसुस गरेको र आपसी सम्बन्धलाई सुधार गर्ने मौकाको रुपमा यो भ्रमणलाई उपयोग गर्ने जानकारहरू बताउँछन् ।

तर प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले गठबन्धन फेरिएका कारण भारतलाई चित्त दुखेको छ भन्ने कुरामा सत्यता नरहेको बताए । उनले आर्थिक समृद्धि, सुशासन कायम गर्नका लागि आवश्यकता अनुसार गठबन्धन फेरिएको तर्क गरे ।

यदि भारत पक्षलाई कुनै आशङ्का भएमा यो भ्रमणले स्पष्ट पार्ने सापकोटाको भनाइ छ । ‘दुई देशबिचको सम्बन्ध सधैँ राम्रो नै छ,’ उनले भने, ‘यो भ्रमणले झन् राम्रो बनाउने विश्वास लिएका छौँ ।’

उनले प्रधानमन्त्री प्रचण्डले यसअघि गरेको भारत भ्रमणका क्रममा भएको सम्झौताका कार्यान्वयन लगायतको विषयमा पनि भारतका प्रधानमन्त्री मोदीसँग कुराकानी गर्ने बताए ।

प्रचण्ड अप्ठ्यारोमा

सत्ता गठबन्धनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा छन् । माओवादी केन्द्रका एक नेताले भने, ‘सत्ता गठबन्धनका मुख्यघटक एमालेबाटै सरकारलाई असहयोग भइरहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सो पार्टीका नेताहरूले सरकारको बारेमा टिप्पणी गरिरहेका छन् । एमालेबाट प्रधानमन्त्रीजीलाई पूरै असहयोग भइरहेको छ ।’

गठबन्धनलाई टिकाउन प्रधानमन्त्री प्रचण्ड समक्ष चुनौती छ । यस अवस्थामा भारतसँग सम्बन्ध सुधार गर्ने बाहेक प्रचण्डसँग अरु कुनै विकल्प नरहेको ती नेताले बताए ।

२०७९ पुसमा प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो दोस्रो भारत भ्रमण हो । एक वर्षअघि जेठ १७ गतेदेखि उनले भारत भ्रमण गरेका थिए । त्यतिबेला माओवादी र कांग्रेससहितको गठबन्धन सरकारको प्रधानमन्त्री थिए प्रचण्ड ।

अहिले अवस्था फेरिएको छ । एमाले–माओवादी गठबन्धन सरकारका प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेका हुन् । सन् २०१४ मा पहिलो पटक मोदी प्रधानमन्त्री पदको शपथ लिँदा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए भने दोस्रो पटक सन् २०१९ मा मोदीले प्रधानमन्त्रीमा शपथ लिँदा नेपालबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए । मोदीको दोस्रो कार्यकाल सुरु हुँदै गर्दा पनि ओलीसँग मोदीको सम्बन्ध त्यति राम्रो थिएन । तर शपथ ग्रहणमा सहभागी हुन पुगेका ओलीले मोदीसँगको सम्बन्ध सुधार गर्ने एउटा अवसरका रुपमा भ्रमणलाई उपयोग गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update