Public Pana
बागमती प्रदेश सरकारले ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदै

 बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकाले आर्थिक सङ्कुचनका कारण राजस्व सङ्कलन दर न्यून रहेको भन्दै चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो ।

 

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको छ । ठोस रूपमा बजेट कति अङ्कको आउँछ भन्नुभन्दा पनि चालु आर्थिक वर्षको अनुपातमा बजेट ल्याउने काम भइरहेको उनले बताए ।

प्रदेश सरकारको आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान बापतको रकमसमेत कटौती भएकाले बजेट केही प्रभावित हुने मन्त्री थपलियाको भनाइ छ । कर, दस्तुर र सङ्घीय सरकारले दिने अनुदानसमेत कटौती भएकाले पनि चालु आर्थिक वर्षको हाराहारीमै बजेट ल्याउने उनले बताए ।

आगामी आर्थिक वर्षमा आकार घटे पनि व्यवस्थित र व्यावहारिक ढङ्गबाट बजेट ल्याउने मन्त्री थपलियाको दाबी छ । उनका अनुसार प्रदेश सरकारले परम्परागत शैलीलाई तोडेर नागरिकमैत्री बजेट निर्माण गरिरहेको छ । सोही अनुसार मन्त्रालयले आम नागरिकको आवश्यकतालाई पूर्ति गर्न सुझाव सङ्कलनको काम गरिरहेको उनले बताए ।

ठुला र बृहत् प्रकृतिका योजनासँगै जनताका जीवनस्तरसँग जोड्ने कार्यक्रम आगामी वर्षको बजेटमा समावेश हुने उनको भनाइ छ । उत्पादन र उत्पादकत्व वृद्धि, आर्थिक उपार्जन, उद्यमशीलता विकास, रोजगारी र सिपजस्ता क्षेत्र सरकारको प्राथमिकतामा रहेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update