Public Pana
भारतमा मोदीजादु चलेन , प्रधानमन्त्री बन्न  पनि  राेक्ने विपक्षी प्रयास

काठमाडौं । भारतमा चुनावी अभियानको सुरुमा एउटै प्रश्न थियो, भारतीय जनता पार्टी (भाजपा)ले कति सिट जित्न सक्छ ? नरेन्द्र मोदीको पक्षमा कति भारी बहुमत ल्याउँछ ?

मोदीको नाममा चुनाव लडेको भाजपाले अबकी बार ४०० पारको नारा दिएको थियो । सातौं तथा अन्तिम चरणको मतदान भएको साँझ १ जुनमा सार्वजनिक एक्जिट पोलहरुमा मोदीको अपेक्षाअनुसार नतिजा नआए पनि भाजपाले सहज बहुमत र एनडीए गठबन्धनले ३५० भन्दा बढी सिट जित्ने दाबी गरिएको थियो । 

 

 

मंगलबार जब मत गणना सुरु भयो, मोदी र भाजपा समर्थकलाई नराम्रो झट्का लाग्यो । किनकी भाजपाले संसदको बहुमत गुमाउने मात्र होइन, एनडीए गठबन्धनको बलमा सरकार बनाउन समेत गाह्रो पर्ने सुरुवाती रुझानले देखायो ।

साँझसम्म आइपुग्दा मोदी बाराणासी क्षेत्रबाट तेस्रो पटक लोकसभा सदस्यमा निर्वाचित भएका छन् । तर उनको दल भाजपाले संसदको बहुमत गुमाएको छ । एनडीए गठबन्धन कायमै रहे मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने देखिन्छ । 

 

 

मोदीको घट्दो लोकप्रियता

पछिल्लो दुई लोकसभा चुनावमा एकल बहुमत ल्याएको भाजपाले यो पटक मोदीकै नाममा चुनाव लडेको थियो । सरकार गठनका लागि २७२ सिट भए पुग्ने भएपनि ४०० पारको नारा दिएर गठबन्धनलाई दुई तिहाई बहुमत मागेको थियो ।

अर्थात भाजपा एक्लैले ३७० र बाँकी सिट गठबन्धनका अरु दलबाट अपेक्षा गरेको थियो । २०१४ मा २८२ सिट जितेको भाजपाले २०१९ मा ३०३ सिट जितेको थियो । एनडीए गठबन्धनले भने क्रमशः ३३६ र ३५३ सिट जितेको थियो ।

तर यसपटक भाजपाले संसदमा बहुमत गुमाउने निश्चित भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले ९३ सिट जितिसकेको छ भने १४६ सिटमा भाजपा उम्मेदवार अगाडि छन् । अग्रता लिएको सबै सिट जित्दा पनि भाजपाको २३९ मात्र हुनेछ ।

मोदीको घट्दो लोकप्रियता उनकै निर्वाचन क्षेत्र बाराणासीको नतिजाले पनि देखाउँछ ।

सुरुवाती रुझानमा त मोदी आफैं पछाडि परेका थिए, तर १ लाख ५० हजारभन्दा बढी मतान्तरले कांग्रेसका अजय राईलाई पराजित गर्दै सांसद चुनिए । मोदीले चुनाव त तेस्रो पटक जिते, तर उनको मतान्तर ३ लाखभन्दा बढी घटेको छ ।

मोदीले ६ लाख १२ हजार ९७० मत पाउँदा राईले ४ लाख ६० हजार ४५७ मत पाएका छन् ।

२०१९ मा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए । उनले ६ लाख ७४ हजार ६६४ अर्थात कुल मतको ६३ प्रतिशत पाउँदा उनका निकतमत प्रतिद्वन्द्वी समाजवादी पार्टीकी शालिनी यादवले १ लाख ९५ हजार १५९ मत पाएकी थिइन् । कांग्रेसका राईले १ लाख ५२ हजार बढी मत पाएका थिए ।

सन् २०१४ मा पनि मोदीको मतान्तर ३ लाख ७१ हजारभन्दा बढी थियो । त्यो चुनावमा मोदीले कुल ५ लाख ८१ हजार ०२२ मत पाएका थिए, जुन कुल मतदाताको ५६ प्रतिशत हो । आम आद्मी पार्टीका अरविन्द केजरीवालले जम्मा २ लाख ० हजार २३८ मत पाउँदा कांग्रेसका अजय राईले जम्मा ७५ हजार ६१४ मत पाएका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update