Public Pana
कप्तानकाे रुपमा तेस्राे नम्बरकाे कमान्ड सम्हाल्न तयार छन राेहित पाैडेल ?

नेपाल १० वर्षपछि टी–२० विश्वकप खेल्न मैदानमा उत्रँदै छ । सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाल त्यसपछि लगातार छनोट चरण पार गर्न असफल हुँदै आएको थियो । तर, नेपाल यस पटक आफ्नो सपना साकार पार्न सफल भएको छ । 

 

नेपाली टोलीले टी–२० विश्वकपमा आफ्नो गौरवशाली उपस्थिति दर्ता गराएको छ । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । 

विश्वकपमा नेपालले आफ्नो पहिलो खेल मंगलबार राति चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियमा नेपाली समयअनुसार राति २१ः१५ बजे सुरु हुनेछ । उक्त रंगशालामा नेपालले खेल्दै गर्दा कीर्तिपुरको झल्को आउने गरि नेपाली दर्शकको बाक्लो उपस्थित हुनेछन् । 

 

May be an image of 3 people and text that says "CAN ICC WORLDCUP WESTINDIES&USA2024 MDIES& WORLDC CUP YOUNGEST CAPTAIN to LEAD A TEAM IN T20 WORLD CUP HELME HORDOE e C WORLD 58A2004 CU NEI RCHIT 17 kh"

उक्त कुराको सङ्केत कप्तान रोहित पौडेलले गरेका छन् । नेपालको पहिलो खेल हेर्नका लागि सम्पूर्ण टिकट विक्री भएको र त्यसको ९० प्रतिशत टिकट नेपाली दर्शकले खरिद गरेका छन् । पछिल्लो समयमा नेपालमा क्रिकेटको क्रेजमा भएको वृद्धिलाई अन्तर्राष्ट्रिय रूपमै सम्मानजनक रूपमा लिने गरिएको छ ।  

नेपालले निकै कठिन समय  र परिस्थितिबिच विश्वकपमा स्थान बनाएको थियो । त्यसैले नेपाली टोली १० वर्षपछि मैदानमा आफ्नो अब्बल खेल प्रस्तुत गर्नुपर्ने दबाब देखिएको छ । नेपालसामु विश्वकप मञ्चमा विश्वस्तरीय खेल प्रदर्शन गर्दै आफू छनोट हुनुको औचित्य पनि साबित गर्नुपर्ने दबाब छ । 

हालसम्म नेपालको युवा टोलीको प्रदर्शनलाई लिएर विश्वभरका क्रिकेटका हस्तीले प्रशंसा गर्दै आएका छन् । १० वर्षअघि नेपाल समूह चरणबाटै बाहिरिए पनि धेरै प्रशंसा बटुलेको थियो । तत्कालीन समयमा कप्तानी गरेका पारस खड्का अहिले नेपाल क्रिकेट संघ (क्यान) को सचिव  छन् । 

यसरी नेपालसँग समर्थकहरूले विश्वकपमा ठुलो अपेक्षा गरिरहँदा नेपालले एउटा समस्या भने भोग्दै आएको छ । नेपालले पछिल्ला खेलहरूमा ओपनिङ जोडीको रूपमा कुशल भुर्तेल र आसिफ शेखलाई उतार्दै आएको छ । सम्भवतः विश्वकपमा पनि यही जोडी ओपनिङका लागि उत्रने देखिन्छ । 

हालसम्मको अभ्यास, कप्तान र प्रशिक्षक मोन्टी देशाईको प्रतिक्रिया हेर्दा ओपनिङ जोडीमा कुनै परिवर्तन नहुने देखिन्छ । तर, नेपालले हरेक खेलमा भोग्दै आएको समस्या ओपनिङ जोडीपछि आउने ब्याटरको नै रहँदै आएको छ ।  

पछिल्ला केही खेलहरूमा नेपालका तर्फबाट तेस्रो नम्बरमा ब्याटिङका लागि कप्तान रोहित पौडेल स्वयं आउने गरेका छन् । नेपाली टिममा तेस्रो विकल्प उनी होइन् । किनभने रोहित आफै कप्तान भएकाले खेललाई जुनसुकै अवस्थामा पनि सम्हालेर अघि लैजानुपर्ने जिम्मेवारी उनको काँधमा छ ।

यो उनीमाथि पर्ने दबाब हो । दबाबमा आएको कप्तानले तेस्रो नम्बरमा सहजै ब्याटिङ गर्न नसक्ने देखिन्छ । कुनै समय भारतमा सचिन तेन्दुलकर र वीरेन्द्र सेहवाग चर्चित ओपनिङ जोडी थिए । तत्कालीन समयमा तेस्रो नम्बरमा राहुल द्रविडले खेल्ने गरेका थिए । 

उनी क्लासिकल सट खेल्न माहिर थिए । तर, नेपाली क्रिकेटको हकमा भने सधैँ देखिने गरेको समस्या भनेकै तेस्रो नम्बरको ब्याट्सम्यानको हो । ओपनिङ जोडी सस्तैमा आउट भएको अवस्थामा त्यसपछि आउने अधिकांश ब्याटरहरुले त्यो दबाब झेल्न सकेको देखिँदैन । 

ओपनिङ जोडिले राम्रो सुरुवात दिएको अवस्थामा नेपालले विशाल रनलाई पनि पछ्याउन सफल भएका प्रशस्तै उदाहरण छन् । पछिल्लो समय वेस्ट इन्डिजको ‘ए’ टिम नेपाल आएर खेल्दा दुई सय रनको लक्ष्यसमेत नेपालले पछ्याएको थियो । 

कप्तान पौडेलले कप्तान र तेस्रो क्रममा दुवै भूमिका निभाउँदा उनी धेरै नै दबाबमा भएको कुरा प्रशिक्षक मोन्टी देशाईले बुझेका छन् । तर, यसका लागि भरपर्दो विकल्प भने उनले पाएको देखिँदैन । शायद यही प्रयोगका लागि नेपालले  अनिल साहलाई टोलीमा समावेश गरेको हो । 

तर, यो विकल्प विश्वकपमा प्रयोग हुन्छ कि हुँदैन खेलपछि नै थाहा हुनेछ । एउटा विकल्पको रूपमा उनलाई लिन वा नेपालले प्रयोग गर्न सक्छ । तर, विश्वकपजस्तो ठुलो खेलमा यो विकल्प प्रयोग गर्ने कि नगर्ने प्रशिक्षक र कप्तानको निर्णयमा भर पर्नेछ ।  

२५ वर्षीय अनिलले पनि देशका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । तर, उनले तुलनात्मक रूपमा कम अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका कारण यो जोखिमपूर्ण पनि हुनसक्छ । 

अनिलले हालसम्म देशका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय र दुईवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियको १० पालीमा ३३.२५ को औसतले कुल दुई सय ६६ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १०३.५० रहेको छ । 

अनिलले सन् २०१८ को जुलाई २९ तारिखमा लर्डसमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । त्यो खेल वर्षाका कारण अनिर्णीत रूपमा सकिएकाले उनले ब्याटिङ गर्न पाएका थिएनन् । 

यसैगरी उनले अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०२४ को मार्च १ तारिखमा खेलेका थिए । त्रिकोणात्मक शृङ्खलाअन्तर्गत कीर्तिपुर मैदानमा नामिबियाविरुद्ध उनले अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । त्यो खेलमा ओपनरको भूमिकामा उनले २३ रन बनाएका थिए । उक्त खेलमा नेपाल तीन रनले विजयी भएको थियो ।

ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख निरन्तर थिए भने उनीहरूमध्ये एक जनाको विकेट गएपछि कुशललाई पठाइएको थियो । यो खेलमा नेपालले तेस्रो नम्बरको ब्याट्सम्यानको विकल्पको खोजीका लागि एउटा प्रयोग पनि गरेको थियो । 

तर, यो प्रयोग भने सफल देखिएन । नेपालले २०८० साल कात्तिकमा विश्वकप छनोटको खेलमा पनि यस्तो प्रयोग गरेको थियो । तत्कालीन समयमा पाँच खेलमा केही ब्याटरहरुलाई तेस्रो नम्बरमा पठाएर खेलाइएको थियो ।

नेपालले पाँच खेलमा तेस्रो नम्बरमा रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, गुलसन झा र सन्दीप जोरा गरी पाँचै जना ब्याट्सम्यानको प्रयोग ग¥यो । सोमपाल,  सन्दीप जोरा  र गुलसन झाले  राम्रो प्रदर्शन गर्न सकेनन् र यो विकल्प त्यहीँ रोकिएको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update