Public Pana
नेपाल भर्सेस नेदरल्याण्ड हेड टु हेड काे बलियाे  , सुखद नतिजाको खोजीमा नेपाल

काठमाडाै-नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपको सुरुवात गर्दै छ। 

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल राति सवा ९ बजे सुरु हुनेछ।  

सन् २०१४ पछि टी–२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपमा सुखद सुरुवात गर्ने योजनामा छ। 

 

एसोसियट क्रिकेटमा चिरपरिचित नेपाल र नेदरल्यान्ड्स दुवै विश्वकपमा सुखद सुरुवात गर्न चाहन्छन्। एसोसियट क्रिकेटको नम्बर १ टोली नेदरल्यान्ड्स नेपालमाथि हावी हुन चाहन्छ। 

यद्यपि युवा खेलाडीले नेपाली टोली उत्साहित छ। विश्वकपको तयारीका लागि नेपालले वेस्ट इन्डिज र अमेरिकामा अभ्यास खेलेको थियो। 

विश्वकपलाई नै लक्षित गर्दै नेपाली टोलीले घरेलु टोली र भारतमा पनि अभ्यास गरेको थियो। त्यसैले पनि नेपाली टोलीका लागि विश्वकप अवसरसँगै परीक्षा पनि हो। 

तीव्रगतिका बलर सोमपाल कामीले नेदरल्यान्ड्सविरुद्ध खेल्दा नेपालबाट लगातार दोस्रो पटक विश्वकप खेल्दा पहिलो खेलाडी बन्नेछन्।

नेपालले सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा सोमपाल टोलीका सदस्य थिए। त्यो बेलामा टोलीको जुनियर खेलाडीका रुपमा विश्वकप खेलेका सोमपाल यो पटक अनुभवी खेलाडीका रुपमा मैदान उत्रिनेछन्। 

सन् २०१४ को विश्वकपमा नेपाली टोलीलाई देखेर क्रिकेट यात्रा सुरु गरेका खेलाडीहरु अहिले टोलीका मुख्य सदस्य छन्।  

कान्छा कप्तान रोहित 
नेपालले दोस्रोपटक विश्वकपको यात्रा सुरु गर्दा नेपाली टोलीका कप्तान रोहित पौडेल विश्वकप २०२४ को कान्छा कप्तान हुनेछन्।

नवौँ संस्करणको विश्वकपमा रोहितले कान्छा कप्तानको रुपमा नेपालको कप्तानी सम्हाल्नेछन्। नेदरल्यान्ड्सविरुद्ध खेल्दा कप्तान रोहित २१ वर्ष २ सय ७६ दिनका हुनेछन्। 

जारी विश्वकपमा सहभागी २० टोलीका कप्तानमध्ये तीन कप्तानले ३७ वर्ष नाघिसकेका छन्। सबैभन्दा बढी उमेरको कप्तानका रुपमा कप्तान साद विन जफरले क्यानडाको नेतृत्व गरेका छन्। जफरले ३७ वर्ष पार गरिसकेका छन्। उनीपछि स्कटल्यान्डका कप्तान रिचि वेरिङटोन, भारतका कप्तान रोहित शर्माले ३७ वर्ष पूरा गरिसकेका छन्। 

 

 

विपक्षीको नजरमा पर्नेछन् दीपेन्द्र 
नेदरल्यान्डविरुद्ध खेल्दा नेपाली टोलीका दीपेन्द्रसिंह ऐरी सबैको नजरमा हुनेछन्।

अभ्यासका क्रममा चोट लागेका विश्व कीतिमानी दीपेन्द्र विश्वकपका लागि फिट भइसकेका छन्। टी–२० मा लगातार कीर्तिमानी प्रदर्शन गरेका अलराउन्डर दीपेन्द्र हावी हुने अपेक्षा छ। 

ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखको जोडी जिम्मेवार भएर क्रिजमा टिक्नु जरुरी छ। लामो सट खेल्नेभन्दा पनि १० ओभरसम्म खेललाई अगाडि लैजान सके मध्यक्रममा कुशल मल्ल, सन्दीप जोरा, कप्तान रोहितसहित दीपेन्द्रले इनिङ्सलाई अघि बढाउनेछन्। 

बलिङतर्फ खेलाडीहरु धैर्यका साथ प्रस्तुत हुन आवश्यक छ। 

 

 

हेड टु हेडमा यस्ता छन् दुवै टोली
टी–२० आई खेलमा नेपाल र नेदरल्यान्ड्सबीचको पछिल्लो पाँच खेललाई हेर्ने हो भने नेपालविरुद्ध डच टोली हावी देखिएको छ। 

सन् २०२४ मा भएका तीन भेटमा नेदरल्यान्ड्सले २ खेलमा जित निकालेको छ भने नेपालले एक खेल आफ्नो पक्षमा पारेको छ। 

पछिल्ला पाँच खेललाई हेर्ने हो भने नेपालले २ खेल जित्दा ३ खेल डच टोलीलाई सुम्पेको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update