Public Pana
शिर्ष नेताकाे वैठकमा प्याकेजमै सहमती हुनुपर्ने माधव नेपालकाे अडान

 एकीकृत समाजवादीले केन्द्रीय समीकरणअनुसार मधेश सरकार बनाउन प्याकेजमै सहमति हुनुपर्ने अडान लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबारको वार्तामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेशसहित सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्याकेजमै सहमति गर्नर्पुर्ने अडान राखेका हुन् 

केन्द्रमा सत्ता गठबन्धनमा रहेको समाजवादी मधेशमा भने जसपा नेपाल नेतृत्वको सरकारमा छ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने कार्यतालिका छ । सरकार टिकाउन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा, समाजवादीका अध्यक्ष नेपाललाई समर्थन गर्न आग्रह गरिसकेका छन् । मधेशमा जसपा नेपाललाई विस्थापित गरी सत्ता गठबन्धनको सरकार बनाउन समाजवादी निर्णायक छ । सत्ता गठबन्धनले भने जनमतको नेतृत्वमा प्रदेश सरकार बनाउने तयारी गरेको छ ।

यसबीच, प्रधानमन्त्री दाहाल र ओलीले नेपाललाई मनाउने प्रयास गरेका हुन् । तर राजनीतिक नियुक्ति, प्रदेश सरकार निर्माण र अन्य क्षेत्रमा ओली र दाहालले मनमौजी गरेको भन्दै नेपालले सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएका छन् । संघ र प्रदेशमा सम्मानजनक सहकार्य गर्न बेवास्ता गरेको भन्दै नेपालले सकेसम्म यही समीकरणको प्रधानमन्त्री, नभए महत्त्वपूर्ण भूमिका खोजेका छन् ।

सुदूरपश्चिम प्रदेशमा समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री भए पनि एमाले र माओवादी सरकारमा सहभागी भएका छैनन् । यहाँ मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारले काम गर्न सकेको छैन । त्यस्तै सत्ता गठबन्धनबाट कर्णालीमा यामलाल कँडेल र कोशीमा हिक्मत कार्की मुख्यमन्त्री भए पनि सरकारमा समाजवादीलाई सहभागी गराइएको छैन । 

मधेशमा जनमतको सरकारलाई समर्थन गर्न आपत्ति नभएको तर अरू प्रदेशमा सम्मानजनक सहभागिताको अडान समाजवादीले राखेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार केन्द्र र प्रदेशमा एउटै समीकरण हुने पक्षमा नेपाल भए पनि सुदूरपश्चिममा आफ्नो दलको सरकारलाई पूर्णता नदिएको र अरू प्रदेशमा सहभागी गराउन बेवास्ता गरेको गुनासो गरेका थिए । ओली र दाहालले केन्द्र र प्रदेशको समीकरण बलियो बनाउनुपर्ने उल्लेख गर्दै मधेश सरकारबारे तत्काल निर्णय आवश्यक भएकाले समर्थन गर्न नेपाललाई आग्रह गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update