Public Pana
कार्यदलको बैठक शुरु

सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक शुरु भएको छ । बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा जारी रहेको हो । 
यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन ।
सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफुहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका छन् ।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारवाही अगाडी बढाउन नदिने बताएपनि सरकारले आज बस्ने संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update