Public Pana
मुख्यमन्त्री कँडेलद्वारा सर्वदलीय बैठक आह्वान

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
 
मुख्यमन्त्री कँडेलले आगामी जेठ ४ गते बस्नेगरी आज बैठक आह्वान गर्नुभएको हो । कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो ।

“समृद्धि र विकास सबैको साझा सरोकारको विषय हो”, उहाँले भन्नुभयो, “एक्लाएक्लै हिँड्नुभन्दा सबै राजनीतिक दलहरूबीच साझा सहमति खोज्ने उद्देश्यले जेठ ४ गते बस्नेगरी बैठक आह्वान गरिएको हो ।” 
मुख्यमन्त्री कँडेलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्षसहित तीनजना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको बताउनुभयो ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ । नीतिगत व्यवस्थाअनुसार कर्णाली प्रदेश सरकारले जेठमा नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउनेगरी तयारी थालेको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update