Public Pana
सिद्धार्थ बन्यो कर्णाली प्रदेशकै पहिलो चारतारे होटल

सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चारतारे होटल बनेको छ । 

पर्यटन विभागले विरेन्द्रनगरमा रहेको सिद्धार्थ होटललाई चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो । 

सिद्धार्थ होटेलले पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेष्टुराँ तथा रिजर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ मा व्यवस्था भएअनुसार चार तारा होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र  प्राप्त गरेको हो । 

होटलले यसअघि खाद्य व्यवस्था तथा गुणस्तर विभागबाट अतिउत्तम वर्गको समेत वर्गीकरण पाएको थियो । 

कर्णाली प्रदेशकै सुविधा सम्पन्न उक्त होटलमा ४ स्विट, ४५ डिलक्स र १५ वटा स्ट्याण्डर्ड प्रकृतिका कोठा रहेका छन् । 

साथै ४ वटा कन्फ्रेन्स हल, ६ सय जनाभन्दा बढी क्षमताको ब्याङ्क्वेट हल, पुल बार रेस्टुरेन्टको मज्जा समेत होटलमा लिन सकिन्छ । 

यस्तै फिटनेस क्लव, स्पा, साउना, स्टिम, जीम, स्विमिङ पुल, ब्युटी पार्लर लगायतका सुविधा समेत होटलमा समावेश छन् । 

विसं २०७२ देखि सञ्चालनमा आएको यस होटलमा ७० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको सिदार्थ ग्रुपबा क्षेत्रीय निर्देशक केशव न्यौपानेले जानकारी दिए । 

२६ वर्षअघि टीकापुरबाट व्यवसाय सुरु भएको सिद्धार्थ हस्पिटालिटीले हाल लक्जरी रिसोर्ट, पाँचतारे होटल र विभिन्न स्ट्याण्डर्डका होटल तथा क्याफे गरी देशैभर सेवा सञ्चालन गरिरहेको छ ।

पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस हस्पिटालिटीले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिँदै आएको छ । 

क्षेत्रिय निर्देशक न्यौपानेले सेवाग्राहीको माया र विश्वासकै कारण सिदार्थ ग्रुपले अझै बढी जिम्मेवारी बोध गरेको भन्दै आगामी दिनमा सेवा थप विस्तार गर्दै कर्णालीका अन्य स्थानमा समेत पुग्ने योजना रहेको खुलासा गरे । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update