Public Pana
चौधरी ग्रुपको वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि दुई लाख जरिवाना,बजारवाट फिर्ता लैजान निर्देशन

काठमाडाै- वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटिएएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गराएको छ।

सुकेधारामा रहेको एसके इन्टरप्राइजेजले बजारमा वितरण गरेको २०८० मा उत्पादन भएको ब्याच नं. ६० ‘जीएमआरएस  २०-एएल/वाईएल२३, चाई’ को चाउचाउ न्यून गुणस्तरको भेटिएको हो। यो ब्याचको चाउचाउमा बनाउँदा प्रयोग गरिने तेल न्यून गुणस्तरको रहेको महानगरले जनाएको छ।

काठमाडौं महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झा वाइ वाइ चाउचाको प्याकेट खोल्दा ढुसी परेको भेटिएको थियो। त्यसपछि सोही ब्याचका अन्य चाउचाउ बजारबाट ल्याएर प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएको डा. झाले बताए। “चाउचाउ बनाउनको लागि प्रयोग गर्ने तेल नै गुणस्तरहीन रहेको भेटिएको छ,” डा. झाले भने, “त्यसपछि हामीले जरिवाना तोकेका हौं।”

महानगरले अब अन्य कम्पनीको चाउचाउ र वाइ वाइको अरु ब्याचको चाउचाउको पनि प्रयोगशालामा परीक्षण गर्ने जनाएको छ। “अहिले उजुरीको आधारमा हामीले वाइ वाइको गुणस्तर जाँच गरेका हौं, अब हामी सबै किसिमको खाद्य सामग्रीको जाँच गर्दै जाने छौं,” डा. झाले भने।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update