Public Pana
युक्रेनले युद्ध लड्न सबै नागरिकलाई स्वदेश फिर्ता बोलाउने

एजेन्सी-युक्रेनले सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन लागेको जनाएको छ । 

किएभले यसै महिना नयाँ कानुन प्रस्तुत गर्दै ड्राफ्ट डोजर (सशस्त्र सेनामा सामेल हुनको लागि आधिकारिक आदेश पालना नगर्ने व्यक्ति) का लागि सजायमा कडाइ गर्ने र परिचालनको उमेर दुई वर्ष घटाएर २५ वर्ष पुर्‍याएको छ ।
 
विदेशमन्त्री दिमित्रो कुलेबाले भने, 'विदेश बसेका कारण कुनै पनि नागरिकलाई मातृभूमिप्रतिको कर्तव्यबाट मुक्त गर्न सकिँदैन । त्यसैले हिजो मैले युक्रेन र विदेशका भर्ती उमेरका पुरुषहरूप्रति निष्पक्ष मनोवृत्ति पुनस्र्थापित गर्ने उपायका लागि निर्देशनमा हस्ताक्षर गरेको छु । यो न्यायोचित हुनेछ ।' 

यसैका लागि विदेश मन्त्रालयले १८ देखि ६० वर्ष उमेर समूहका सबै युक्रेनी पुरुषका लागि कन्सुलर सेवा स्थगन गरेको युक्रेनी सञ्चारमाध्यमले जनाएका छन् ।  

युक्रेनका प्रथम उपविदेशमन्त्री एन्ड्री सिबिगाको हस्ताक्षर रहेको पत्रमा युक्रेनी प्रतिनिधि कार्यालयहरूले विदेशमा रहेका पुरुषलाई मात्र युक्रेन फर्कन अनुमति दिने कागजात जारी गर्ने उल्लेख छ । यस कदमले विभिन्न प्रकारका प्रशासनिक प्रक्रियाहरू पुरा गर्दै युक्रेनी पुरुषहरूलाई विदेशबाट फर्कन बाध्य पार्नेछ । 

जनशक्तिको अभावमा युक्रेनी सेना हालैका महिनाहरूमा लगातार पछि हटिरहेको छ । रूसले केही समय पहिले पूर्वी शहर अभदाइभ्कालाई कब्जा गरेको थियो र अहिले वरपरका गाउँहरू कब्जा गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update