Public Pana
युएईले जित्याे एसीसी प्रिमियर कपको उपाधि 

काठमाडाै- एसीसी प्रिमियर कपको उपाधि युएईले जितेको छ । अल अमेरात क्रिकेट मैदानमा भएको फाइनल खेलमा घरेलु टोली ओमान माथि ५५ रनको जित निकाल्दै युएई उपाधि सहित एशिया कप २०२५ का लागि छनोट भएको हो ।

युएईले दिएको २०५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन मात्र बनाउन सक्यो । ओमानका लागि प्रतीक अथावालेले ३० बलमा ४ चौका र ३ छक्का सहित ४९ रन बनाए ।

खालिद कैलले २५ बलमा ४ चौका र १ छक्का सहित ३० रन बनाए । फयाज बट २३ रनमा अविजित रहे । कप्तान जिशन मक्सुदले १४ तथा रफिउल्लाहले ११ रन जोडे । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

युएईका लागि जुनेद सिद्दिकीले ३ विकेट लिए भने मुहम्मद फरूक र आयन खानले २-२ विकेट लिए । बसील हमिदले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन जोड्यो ।

युएईका लागि कप्तान मुहम्मद वासिमले ५६ बलमा ६ चौका र ७ छक्का सहित १०० रनको शतकीय इनिङ खेले । वासिमलाई बिलाल खानले क्याच आउट गराएका थिए । यस्तै आशिफ खानले १६ बलमा ३६ रनको विष्फोटक अविजित इनिङ खेले ।

युएईका लागि वासिम र अर्का ओपनर आलिशान शराफुले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । सो साझेदारी ओमानका कप्तान जिशनले १०औ ओभरमा तोडेका थिए । पहिलो विकेटका रुपमा आलिशान २८ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए ।

तेस्रो नम्बरमा आएका विष्णु सुकुमरणले १४ बलमा १८ रन बनाएर शकील अहमदको बलमा आउट भएका थिए । यस्तै बसिल हमिदले १ रन बनाउँदा अलि नसिर २ रनमा अविजित रहे । ओमानका लागि बिलाल खानले २ विकेट लिए भने शकील अहमद र जिशन मक्सुदले समान १-१ विकेट लिए ।

यूएईले अन्तिम चारमा नेपाललाई हराएको थियो भने ओमानले हङकङ माथि जित निकाल्दै फाइनलमा आफ्नो स्थान तय गरेको थियो ।

यसबाहेक दुवै ओमान र यूएई इमर्जीङ कपमा छनोट भइसकेका छन् । हङकङले शनिबार तेस्रो स्थानको खेलमा नेपाललाई हराउँदै इमर्जीङ कपमा स्थान बनाएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update