Public Pana
रास्वपाको उदय र कांग्रेसको शक्ति विस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः केपी ओली

काठमाडाै- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र नेपाली काँग्रेसको शक्ति बिस्तारलाई विवेचनायोग्य घटनाको रुपमा चित्रण गरेका छन्। 

शनिबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले सो कुरा बताएका हुन्।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रियतावादी शक्तिको रुपमा र नेपाली कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिको रुपमा उल्लेख गर्दै ती दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति बिस्तार नयाँ र विवेचनाको विषय भएको बताए।  

उनले संविधानका मुल विषयमा अस्पष्ट र असहमत रहनेहरुको संख्या निर्वाचनपछि प्रतिनिधि सभामा उल्लेख्य भएकाले मुलुकमा राजनीतिक अस्थिरता झनै बढेर गएको निष्कर्ष पनि सुनाए। ओलीले निर्वाचन परिणामकै कारण आज मुलुकले ठूलो मूल्य चुकाउनु परेको उल्लेख गर्दै राष्ट्र र जनताको पक्षमा काम गर्न एमालेले सकारात्मक शक्तिहरुलाई साथमा लिएर अघि बढ्न जरुरी रहेको बताए। 

उनले भने, ‘निर्वाचन परिणामले सृजना गरेको प्रतिकुलताको मूल्य आज राष्ट्रले नै चुकाउनु परिरहेको छ। निर्वाचनपछि निर्माण भएकोशक्ति सन्तुलन राष्ट्र र जनताको हितमा अनुकूल बन्न सकेन। मुलुकलाई राजनीतिक स्थिरता आवश्यक थियो। तर प्रतिनिधिसभामा एक दर्जन दलको उपस्थिति र संविधानका मुख्य विषय अस्पष्ट र असहमत रहनेहरुको उल्लेख्य संख्याले राजनीतिक अस्थिरताको सम्भावना झनै बढायो। बलियो राष्ट्रिय शक्ति निर्माणको जनचाहनामा प्रतिकूल प्रभाव पर्‍यो। राजनीतिक स्थायित्व, सुशासन एवं समाजवाद उन्मुख राज्य निर्माणको अभियानमा चुनौती थपिए। निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रुपमा रहेका छन्। यस बीचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यवसायिक क्षेत्रमा संकट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं शुसासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ।’ 

 

 

ओलीले लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनैपनि खालको निरंकुशता हुनै नसक्ने पनि बताए।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update