Public Pana
एसीसी प्रिमियर कप सेमिफाइल : नेपाल  युएईलाई राेक्दै फाइनल पुग्ने रणनीतिमा

काठमाडाै- एशोसियट क्रिकेटमा  पछिल्लाे समयका चिर परिचित प्रतिस्पर्धी  नेपाल र यूएई  फेरी एक पटक मैदानमा उत्रने भएका छन् । एसीसी प्रिमियर कपकाे उपाधीका लागि उनीहरुका बीच फेरि एक पटक प्रतिस्पर्धा हुन लागेकाे हाे । 

ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा आज (शुक्रबार) नेपाल र यूएई भिड्न लागेका हुन्। 

एशोसियट राष्ट्रको बादशाह नेपाल र यूएई चिर प्रतिद्वन्द्वी टोली हुन्। यी दुई टोलीलाई एक अर्काको सबल र कमजोर पक्ष राम्रोसँग थाहा छ।  

त्यसैले दुवै टोली रणनितिक रुपमा बलियो भएर आजको खेलमा मैदान उत्रनेछन्। टी २० होस् वा ओडिआई यी दुई टोलीको खेल क्रिकेट समर्थकका लागि बहुप्रतिक्षित खेल हो।  

ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा हुने खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। नेपालका लागि आजको खेल निकै महत्वपुर्ण छ। 

युएईलाई हराउँदै सेमिफाइनलको यात्रा तय गर्नु त छँदै छ सन् २०२२ मा भोगेको हारको बदला लिने अवसर समेत नेपाली टोली सामु छ।  

सन् २०२२ को फेब्रुअरीमा यही मैदान (अल अमरेत क्रिकेट मैदान टर्फ १) मा नै भएको आईसीसी टि २० विश्वकप छनोटमा युएईसँग पराजित हुँदै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो। सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा रहेको नेपाली टोलीको बाटोमा युएई बाधक बन्न पुग्यो।  

नेपाली टोली आजको खेलमा दुई वर्ष अघि सोही मैदानमा भोगेको हारको बदला लिने दाउमा छ। 

त्यसो त टी–२० क्रिकेटमा नेपाल र युएई ५ महिनापछि भेट हुन लागेका हुन्। यी दुई टोली पछिल्लो पटक गत मंसिरमा घरेलु मैदानमा भएको आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा भेट भएका थिए। 

माथिल्लो मुलपानी मैदानमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले पराजित गर्दै १० वर्षपछि विश्वकपको ढोका खोलेको थियो। 

नेपालले घरेलु मैदानमा नै युएईलाई रोक्दै विश्वकपको ढोका त खोल्यो तर त्यो बेलाको हारको बदला यही मैदानमा लिने उत्कृष्ट अवसर समेत छ।

युएई भने आजको खेलमा ५ महिना अघिको हारको बदला लिर्दै प्रिमियर कपको फाइनलमा पुग्न चाहान्छ। तर नेपाली टोली भने आफ्नो लयलाई कायम राख्दै अपराजित रहेर फाइनल खेल्ने दाउमा छ। 

प्रिमियर कपको समुह ए मा रहेको नेपाल अपराजित रहेर सेमिफाइनल खेल्न लागेको हो। युएई भने समुह बी को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो। 

नेपालले समुह चरणका चार खेलमा चार जित निकालेको हो। युएई भने समुह चरणमा ओमानसँग मात्र हार व्यहोरेको थियो। 

आजै हुने दोस्रो सेमिफाइनलमा समुह बी को विजेता ओमानले समुह ए को उपविजेता हङकङसँग खेल्नेछ। सो खेल सवा ४ बजे सुरु हुनेछ। 

प्रिमियर कपको विजेताले टी २० एसिया कपमा स्थान बनाउनेछन्। एसिया कपमा पुग्ने टोलीले भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछन्। 

हेड टु हेड
टी– क्रिकेटमा नेपाल र युएई अहिलेसम्म ९ पटक भेट भएका छन्। ति भेटमा युएईविरुद्ध नेपाल हावी देखिएको छ। 

नेपालले ५ खेलमा जित निकाल्दा युएईले भने चार खेलको नतिजा आफ्नो पक्षमा पारेको छ। पछिल्ला ५ भेटलाई हेर्ने हो भने नेपालले ३ खेलमा जित निकालेको छ। युएईले भने दुई खेलमा मात्र विजयी भएको छ। 

नेपालको टोली 
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी र अभिनाश बोहरा।

यूएईको टोली
मोहम्मद वासिम (कप्तान)  आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update