Public Pana
कतारका अमिरको पहिलो नेपाल भ्रमण, श्रम सम्झौताको तयारी

नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने प्रस्ताव गरेको छ । सन् २००५ मा भएको श्रम सम्झौतालाई समयानुकूल परिमार्जन गर्नुपर्ने भन्दै नेपालले नयाँ श्रम सम्झौताको प्रस्ताव गरेको हो ।  

 

 

उक्त प्रस्तावमा दुवै देशका अधिकारीहरूबिच छलफल अघि बढेको छ । गत मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र नेपालका लागि कतारी राजदूत मिशाल बिन मोहम्मद एल एई अन्सारीबिच भेटवार्ता भएको थियो । उक्त भेटको क्रममा मन्त्री अर्यालले श्रम सम्झौता गर्न नेपाल तयार रहेको सन्देश दिएका दिए । शिष्टाचार भेटमा मन्त्री अर्यालले १९ वर्षअगाडि भएको श्रम सम्झौतालाई परिमार्जन गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि नेपाल तयार रहेको धारणा राखेका थिए । 

कतारका अमिर शेख तमिम बिन हमद अल–थानीको नेपाल भ्रमणका क्रममा श्रम सम्झौतामा हस्ताक्षर गर्न नेपाल तयार रहेको मन्त्री अर्यालको आशय थियो । त्यही आधारमा राजदूत अल–थानीले उक्त प्रस्ताव कतार सरकारसमक्ष पेश गरेका छन् । नेपाल र कतारबिच सन् २००५ मा द्विपक्षीय सम्झौता भएको थियो । 

वैशाख ११–१२ मा कतारी अमिर पहिलो पटक नेपाल भ्रमणमा आउँदैछन् । श्रम प्रवक्ता गोविन्द रिजालले राजदूतसँगको भेटमा श्रम सम्झौताको विषयमा कुरा भएको बताए । नेपालले अमिरको भ्रमणका क्रममा श्रम सम्झौतालाई टुङ्ग्याउन चाहेको बताएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update