Public Pana
सत्ता गठवन्धन धरापमा परेपछि सुदुर पश्चिममा नाउपाकाे दुवै दावी अस्विकार

काठमाडाै- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका पेस भएका दुवै दाबी अस्वीकार गरेका छन्।

मंगलबार उनले नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी अस्वीकार गरेका हुन्। उनले पुनः दाबी गर्नका लागि वैशाख ६ गते बेलुका ५ बजेसम्मको नयाँ समय उपलब्ध गराएका छन्।

यसअघि गत चैत २३ गते उनले वैशाख २ गतेसम्मको समय उपलब्ध गराउँदै संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न भनेका थिए। सोही अनुसार वैशाख २ गते (गत आइतबार) मुख्यमन्त्रीका लागि चौधरीद्वयको दाबी पेस भएको थियो।

सत्ता गठबन्धनमा गत चैत १९ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने र पहिलो कार्यकाल नेकपा एसले पाउने निर्णय भएको थियो। तर आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको बैठकले नाउपालाई मुख्यमन्त्री दिने निर्णय गर्‍यो।

आइतबारको गठबन्धनको निर्णयप्रति एकीकृत समाजवादीको असन्तुष्टि थियो। जसकारण उसले रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीलाई नसघाई रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई सघाएको थियो। लक्ष्मणकिशोरलाई नाउपाका अतिरिक्त कांग्रेस र एकीकृत समाजवादीले समर्थन दिएका थिए।

लक्ष्मणकिशोर र कैलाश दुवैले नाउपाको समर्थनसहितको दाबी प्रस्तुत गरेकाले मुख्यमन्त्री चयन जटिल देखिएको थियो। त्यसैले मुख्यमन्त्रीले दुवै पक्षका समर्थकको हस्ताक्षर लिने आकलन गरिएको थियो। तर मंगलबार भने उनले नयाँ प्रक्रिया सुरु गरेका छन्। यद्यपि उनको यो निर्णय अप्रत्याशित भने होइन। 

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा लिएको निर्णयले अन्य प्रदेशका अतिरिक्त संघीय सरकारमै पनि उथलपुथल आउने सम्भावना बढेको थियो। त्यसैले एमाले र माओवादी केन्द्रका शीर्ष नेतृत्वले यसबीचमा गम्भीर छलफल गरेका थिए। छलफल निष्कर्षमा नपुगेकै कारण प्रदेश प्रमुख मियाँलाई ठोस निर्णय लिन रोकिएको थियो।

यसबीचमा भएको छलफलमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति जुटेको थियो। त्यसलाई नाउपाले पनि स्वीकार गरेपछि मंगलबार नै एकीकृत समाजवादीले लक्ष्मणकिशोरलाई समर्थन नरहेको भन्दै प्रदेश प्रमुख कार्यालयमा निवेदन पनि दिएको थियो।

सबै तारतम्य मिलेपछि मंगलबार प्रदेश प्रमुखको निर्णय आएको हो। 

 

 

हाम्रो दाबी पेस हुन्छ। हामीलाई एमाले, माओवादी केन्द्र र नाउपाको पनि समर्थन रहन्छ,’ एकीकृत समाजवादीका एक नेताले नेपाल लाइभलाई बताए।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update