Public Pana
सुदूरपश्चिम प्रदेशलक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको भन्दै एकीकृत समाजवादीद्वारा प्रदेश प्रमुखसमक्ष निवेदन 

काठमाडौं- नेकपा एकीकृत समाजवादीले नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिएको छ। उसले मंगलबार प्रदेश प्रमुख कार्यालयमा समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र दिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जानकारी दिए।

गत आइतबार मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले दाबी पेस गरेका थिए। लक्ष्मणकिशोरले नाउपाका अतिरिक्त कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा दाबी पेस गरेका थिए। त्यस्तै, कैलाशले नाउपाका अतिरिक्त एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा दाबी पेस गरेका थिए। 

दुवैतर्फ नाउपाको समर्थन उल्लेख भएकाले प्रदेश प्रमुख नजिर मियाँले निर्णय गर्न सकेका थिएनन्। प्रदेश प्रमुख कार्यालयले पनि मियाँ परामर्शमा रहेको बताउने गरेको थियो। तर पछिल्ला संवादमा सो प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने आन्तरिक तयारी अघि बढेको थियो। त्यसका लागि प्रदेश प्रमुख मियाँलाई मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि पुनः आह्वान गराउने तयारी समेत भइरहेको छ। त्यसै सन्दर्भमा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएको हो। 

 

 

एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्यले पनि आफूहरूले समर्थन फिर्ताको जानकारीसहित प्रदेश प्रमुख समक्ष पत्र बुझाएको बताए। 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update