Public Pana
अस्ट्रेलियाको सिड्नीमा फेरि चक्कु आक्रमण, क्रिस्चियन धर्मगुरुसहित कैयौँ घाइते

अस्ट्रेलियाको सिड्नी सहरमा फेरि चक्कु आक्रमणको अर्काे घटना भएको छ।  

बीबीसीका अनुसार सिड्नीमा झगडाका क्रममा छुरा प्रहार हुँदा एक क्रिस्चियन धर्मगुरु र अन्य कैयौँ व्यक्ति घाइते भएका छन्। 

घटना सोमबार साँझको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार क्रस्चियन कार्यक्रम अनलाइन प्रसारण भइरहेको थियो। 

प्रहरीका अनुसार चक्कु प्रहारबाट कैयौँ घाइते भए पनि कसैलाई गम्भीर चोट भने लागेको छैन। 

घटनामा एक जना पक्राउ परेका छन्। 

यसअघि शनिबार मात्र सिड्नीकै एक सपिङ मलमा चक्कु प्रहार हुँदा ६ जनाको ज्यान गएको थियो। 

प्रहरीले त्यहाँको समय अनुसार अपराह्ण ४ बज्नै लाग्दा एक जना पुरुषलाई गोली हानिएपछि अवस्था संवेदनशील बनेको घोषणा गरेको थियो।

त्यसपछि आक्रमणका घटनाहरू जारी रहेको भन्दै मानिसहरूलाई उक्त क्षेत्रतर्फ नजान भनिएको थियो।

आक्रमणपछि प्रहरीले उक्त क्षेत्रलाई खाली गरिएको थियो।

त्यस लगत्तै घटनास्थलमा दर्जनौँ एम्बुलेन्स र प्रहरीका गाडीहरू रहेका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिएका थिए।

सामाजिक सञ्जालमा शेअर गरिएको भिडिओमा एकजना पुरुषले ठूलो खालको चक्कु लिएर आक्रमण गर्न खोजेको पनि देखाइएको छ।

एकजना प्रत्यक्षदर्शीले रोएटर्स समाचार संस्थालाई कोही घाइते भएर लडिरहेको र अन्यले के भएको रहेछ भनेर हेरिरहेको देखेको बताएकी छन्।

उनले भनिन्, "त्यसपछि हामीले ती सबै मानिसहरू हामीतिर दौडिरहेको देख्यौँ र हामीले गोली चलेको सुन्यौँ। मेरो श्रीमान्‌ले हामीलाई तानेर एउटा पसलभित्र लगे। हामीले त्यहाँकी महिलालाई ढोका लगाउन मद्दत गर्‍यौँ। ढोका थुनेर हामी प्रहरी नआउन्जेल त्यहाँ बस्यौँ।"

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update