Public Pana
रेकर्ड बनाइरहेका दिपेन्द्र

नेपाली क्रिकेट टिम यतिबेला ओमानमा एसीसी प्रिमियर कप खेलिरहेको छ । टी-२० शैलीमा खेलिएकाे याे प्रतियाेगिताकाे एक दिवसीय मान्यताप्राप्त देशका साथै गत सिजनकाे विजेतासमेत भएकाले नेपाललाई उपाधि जोगाउने चुनाैती छ भने अन्य टोली भने नेपाललाई पराजित गरि उपाधि उचाल्ने रणानीति बाेकेर खेल मैदानमा उत्रेका छन् ।

नेपालले शुक्रबार र शनिबारका दुवै खेलका नतिजा आफ्नाे पक्षमा पार्दै फेरि पनि उपाधि उचाल्ने संकेत विपक्षी टोलीहरुलाई दिइरहेकाे छ । दुई खेलमा नेपालका सबै खेलाडीले राम्राे प्रदर्शन गरेका छन् । तीमध्ये पनि दिपेन्द्रसिह ऐरी र गुलसन झाकाे प्रदर्शन उत्कृष्ठ रह्यो । मलेसियासँगको खेलमा झाले नेपाली इनिङलाई कायम राख्दै विजयी गराए भने शनिबार कतारसँगको खेलमा अलराउण्डर दीपेन्द्रले बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरे ।  उनले ६ बलमा ६ छक्का प्रहार गरेर इतिहाससमेत बनाए ।  

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले बिसौं ओभरका सबै ६ बलमा छक्का प्रहार गरेका थिए ।  दीपेन्द्रले कतारका मध्यगतिका बलर कमरान खानको बलमा लगातार छक्का हानेका थिए । उनले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाएपछि नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रनकाे विशाल लक्ष्य बनाएको थियो । 

२११ रनको लक्ष्य पछ्याएको कतार ९ विकेट गुमाएर १७८ रनमा अलआउट भएपछि नेपालले खेल ३२ रनले जितेको थियो । बलिङतर्फ पनि दीपेन्द्रले दुई विकेट लिएका थिए । 

दीपेन्द्र बने ६ बलमा ६ छक्का प्रहार गर्ने विश्वकाे पाँचाै खेलाडी 
दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बनेका छन् । उनी टी-२० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका हुन् ।  

एकै ओभरमा ६ छक्का प्रहार गर्ने अन्य खेलाडीमा हर्सल गिब्स ,युवराज सिंह,काइरन पोलार्ड र जसकरण मलहोत्रा हुन् । दक्षिण अफ्रिकाका ब्याटर हर्सल गिब्सले २००७ को एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए । यस्तै भारतका पूर्वआक्रामक ब्याटर युवराज सिंहले २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडलाई १९ औं ओभरमा ६ छक्का हानेका थिए ।  वेस्टइन्डिजका पूर्वकप्तान काइरन पोलार्डले २०२१ को टी–२० आई सिरिजमा श्रीलंकाका स्पिनर अकिला धनञ्जयलाई छैटौं ओभरमा ६ छक्का हानेका थिए ।

अमेरिकाका ब्याटर जसकरण मलहोत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओडीआई खेलमा एकै ओभरमा ६ छक्का हानेका थिए । अन्तिम ओभरमा गौडी टोकालाई एकै ओभरमा छक्का हानेका थिए । 

यस्तै कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने उनी पहिलो खेलाडीसमेत बनेका छन् । दीपेन्द्रले यसअघि सेप्टेम्बरमा मंगोलियाविरुद्ध टी–२० आईमा दुई फरक ओभरमा लगातार ६ बलमा ६ छक्का हानेका थिए । उक्त खेलमा दीपेन्द्रले ९ बलमै क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गरेका थिए । 

 

 

दिपेन्द्र भन्छन्- चाैथाे छक्कापछि सबै बलमा छक्का हान्छु झैं लाग्याे 
शनिबारको खेलको प्लेयर अफ दि म्याच चुनिएका दीपेन्द्रले खेलपछि  सबै बलमा हाल्ने साेच शुरुमा नभएकाे तर हान्दै गएपछि कन्फिडेन्स आएकाे बताए । उनले भने,  ‘चौथो छक्कापछि मलाई लाग्यो कि अरु दुई छक्का हान्न सक्छु भन्ने लाग्याे अनि काेशिस पनि गर्दा सफल भयाे । ’

दीपेन्द्रले टोलीको विश्वासका कारणले नै आफूले राम्रो प्रदर्शन गर्न सकेको बताए । ‘एकदमै खुसी लागेको छ । कीर्तिमान बनाउन सकेँ । टिमले मलाई एकदमै सपोर्ट गर्छ । कोचले पनि फिनिसरको रुपमा नै हेर्नुहुन्छ । टिमले एक अर्कालाई सपोर्ट गर्दा म यहाँ छु’, उनले भने ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update