Public Pana
एसीसी प्रिमियरको उपाधी रक्षा गर्दै टी–२० विश्वकप तयारी र  एसियाकपको ढोका एकै पल्ट खोल्ने रणनीतिमा नेपाल

काठमाडौ–२०२३ को एशिया कपमा नेपालको प्रर्दशनलाई लिएर विश्व क्रिकेटका शक्तिशाली देशहरुले खुलेर प्रशंसा गरेका थिए । नेपालले भारत र पाकिस्तानसँग गरेको प्रर्दशनलाई लिएर नेपाललाई भविष्यमा केही गर्ने तयारीमा साथ मैदानको उत्रेको टिम भनि प्रशंसा समेत भएको थियो ।

नेपालले टेष्ट राष्ट्रका साथै विश्व क्रिकेटमा सधै उपाधीको दावेदार रहने देशहरुसँग देखाएको बहादुरी र हिम्मतपूर्ण प्रर्दशनलाई लिएर भविष्य भएको भनि टिप्पणी क्रिकेटका विश्लेषकहरुले गरेका थिए । 
नेपाल अहिले टि २० विश्वकपको तयारीमा रहको छ । नेपालले भारतीय मैदानमा गएर स्थानीय दुई क्लवसँग अभ्यास खेल खेलेको छ। भारतको रणजीत ट्रफीमा सहभागी हुने दुई टोलीसँगको अभ्यासमा नेपाल विजेता हुदै उपाधी समेत जित्न सफल भयो । यो खेलले नेपाललाई घरेलु मैदान बाहिर खेल्ने ‘कन्फिडेन्स’ दिने छ । 
राज्यस्तरीय क्लबसँग त्रिकोणात्मक टी–२० शृङ्खला खेल्न नेपाली टोली भारत भ्रमणमा गएको हो । ‘एसएमएस फ्रेन्ड्सिप कप’ नाम दिइएको उक्त त्रिकोणात्मक शृङ्खलाको उपाधि जितेर हौसलासहित नेपाल टोली अव ‘एसीसी प्रिमियर कप’  खेल्न जाने छ। 
त्रिकोणात्मक शृङ्खला सकिएपछि अब नेपाली टोली भारतबाटै अर्को महत्त्वपूर्ण प्रतियोगिता ‘एसीसी प्रिमियर कप’ खेल्न ओमान प्रस्थान गर्नेछ । एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म ओमानमा आयोजना हुँदैछ । 
नेपाली महिना अनुसार चैत ३० गते एसीसी प्रिमियर कप शुरु हुने छ भने फाइलन खेल  वैशाख ७ गते हुने छ ।  नेपाल एसीसी प्रिमियर कपको साबिक विजेता पनि हो । एसीसी प्रिमियर कपको पहिलो संस्करण एक वर्षअघि नेपालमै आयोजना भएको थियो । उक्त संस्करणको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो । 
अघिल्लो संस्करणमा पनि नेपाल प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको थियो । एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले आफूभन्दा निकै बलिया टेस्ट राष्ट्रहरूसँग खेल्ने  अवसर पाउँछ ।यो खेलले उदाउँदै गरेको देशका लागि सुनौलो अवसर हुने छ । उनीहरुले विश्व विजेता हुने देशहको बलियो र कमजोर पक्ष देख्ने छन् भने आफूलाई सोही अनुसार अभ्यस्त बनाउने मौका पाउने छन् ।   एसिया कपमा भारत, पाकिस्तान, श्रीलङका, बङ्गलादेश र अफगानिस्तानले सहभागिता जनाउँछन् । 
टी २० ढाँचामा खेलाइदै छ खेल जसले हुने छ विश्वकपको तयारी 
एसीसी प्रिमियर कपको अघिल्लो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो । तर, यो  संस्करण भने टी–२० ढाँचामा खेलाइने भएको छ । त्यसैले एसीसी प्रिमियर कपको आगामी संस्करणले यसै वर्षको जुनमा अमेरिका र वेस्ट इन्डियमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीलाई पनि सहयोग पु¥याउने छ । नेपाललाई दोहोरा फाइदा हुने दावी नेपाली टिमले गरेको छ । 
आगामी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । यसपटक एसीसी प्रिमियर कपमा सहभागी हुने अर्को एक राष्ट्र ओमानले पनि टी–२० विश्वकपमा सहभागिता जनाउने छ । टी–२० विश्वकपमा सहभागी यी दुवै राष्ट्रका लागि एसीसी प्रिमियर कप आफ्नो प्रदर्शनमा सुधार ल्याउने सुनौलो अवसर हुने क्रिकेट विश्लेषकहरुको वुझाइ छ ।  
१० टोली अनि उपाधी रक्षा गर्ने चुनौती 
यसपटक पनि एसीसी प्रिमियर कपमा १० टोलीले सहभागिता जनाउँदै छन् । नेपालसहित आठ राष्ट्र एसोसिएट्स सदस्य राष्ट्रहरूको आसीसी वरीयताका आधारमा प्रतियोगितामा छनोट भएर यहाँ खेल्न आएका  हुन् । बाँकी दुई राष्ट्र साउदी अरेबिया र कम्बोडिया भने एसीसी पुरुष च्यालेन्जर कपबाट एसीसी प्रिमियर कपमा छनोट भएका हुन् । 
यसपटक एसीसी प्रिमियर कपमा नेपालसँगै हङ्कङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ‘ए’ मा परेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा भने बहराइन, कम्बोडिया, कुवेत, आयोजक ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । 
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल अप्रिल १२ तारिखमा मलेसियासँग खेल्नेछ । अप्रिल १३ तारिखमा नेपाल र कतारबिच खेल हुनेछ । अप्रिल १५ तारिखमा नेपालले आफ्नो तेस्रो खेल हङ्कङसँग खेल्नेछ । नेपालले समूहगत चरणको अन्तिम खेल अप्रिल १७ तारिखमा साउदी अरेबियासँग खेल्नेछ ।
समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ ।
प्रतियोगिताको फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ । हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले नै एसीसी प्रिमियर कप खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै स्पष्ट पारिसकेको छ । 
प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई छन् ।


 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update