Public Pana
लुम्बिनि विकाषकाेषमा भ्रष्टाचार: योजना प्रमुख भट्टराईले  भ्रष्टाचार गरेर आमाकाे नाममा २ राेपनी जग्गा लुकाएपछि  

काठमाडाै- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा  भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
आयोगले विशेष अदालतमा आईतबार कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराई र उनकी आमालाई मतियारकाे रुपमा मुद्दा दायर गरेकाे हाे ।

भट्टराईले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि अनुसन्धानका क्रममा विभिन्न कैफियत देखिएपछि मुद्दा दायर  गरिएकाे अभियाेगपत्गरमा उल्लेख छ । 
ज भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा २ रोपनी ९ आना एक दाम र दुई आना एक पैसा गरी दुई कित्ता जग्गा खरिद गर्दा बिक्रेताको खातामा जम्मा गरेको रकमको स्रोत खोजी गरिएको आयोगले जनाएको छ । 
जसअनुसार भट्टराईले उक्त जग्गा खरिद गर्न लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपाइटरसँग घुस माग गरी प्रोपाइटरकै खाताबाट सोझै जग्गा बिक्रेताको खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी जम्मा ८० लाख जम्मा गराएको छानबिनबाट देखिएको आयोगले जनाएको छ । सोही आधारमा भट्टराईलाई ८० लाख रुपैयाँ विगो कायम गरी कैद र विगो बमोजिम जरिवाना मागदाबीका साथ आयोगले मुद्दा दायर गरेको हो ।

यस्तै, भट्टराईकी आमा जनक नन्दनीलाई पनि भ्रष्टाचारको मतियार भएको आरोपमा प्रतिवादी बनाउँदै ८० लाख नै विगो कायम गरी सजाय तथा विगो बमोजिम जरिवाना मागदाबी गरिएको छ । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update