Public Pana
बटलरको शतकसहित राजस्थानको जित

काठमाडाै- जोस बटलरको शतकको मद्दतमा राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार सम्पन्न खेलको रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) विरुद्ध जित हात पारेको छ । राजस्थानले ६ विकेटको जित हात पारेको हो ।

आरसिबिले दिएको १८४ रनको लक्ष्य राजस्थानले ४ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टायो । राजस्थानका लागि बटलरले अन्तिम बलमा शतक पुर्याए । ६ बलमा १ रन चाहिएको अवस्थामा बटलर ९४ रनमा रहेका थिए । अन्तिम ओभरको पहिलो बलमा नै छक्का प्रहार गर्दै उनले ५८ बलमा शतक पुरा गरे । उनको इनिङमा ९ चौका र ४ छक्का सम्मिलित थियो ।

यस्तै राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ४२ बलमा ८ चौका र २ छक्का सहित ६९ रन जोडे । शिमरन हेटमायरले ११ रन बनाए ।

आरसिबिका लागि रिस टोप्लीले २ तथा यश दयाल र मोहम्मद सिरजले १-१ विकेट लिए ।

त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले २० ओभरमा ३ विकेट गुमाउँदै १८३ रन जोड्यो । आरसिबिका लागि विराट कोहलीले ७२ बलमा १२ चौका र ४ छक्का सहित ११३ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान फ्याफ डु प्लेसिसले ३३ बलमा ४४ रन बनाए । तर अन्य ब्याटर चल्न नसक्दा आरसिबिले अझ ठूलो योगफल खडा गर्न सकेन ।

राजस्थानका लागि युजभेन्द्र चहलले २ तथा नन्द्रे बर्गरले १ विकेट लिएका थिए ।

जित पछि राजस्थान ४ खेलमा ४ जित सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा १ मात्र जित हात पारेको आरसिबि आठौ स्थानमा छ ।

आईपिएलमा आईतबार दुई खेल हुँदै छन् । दिनको ३:४५ बजे हुने खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्ने छन् भने बेलुका ७:४५ बजे लखनऊ सुपर जाएन्ट्स र गुजरात टाईटन्स आमने-सामने हुने छन् ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update