एजेन्सी -इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।
हैदराबादमा गएराति भएको खेलमा घरेलु टोलीले चेन्नईलाई ६ विकेटले हरायो । चेन्नईले जितका लागि दिएको एक सय ६६ रनको लक्ष्य हैदराबादले १९ ओभर एक बलमा भेट्टायो । हैदराबादका एडन मारक्रमले ५० रन बनाए ।
अभिषेक शर्माले ३७ रन जोडे । चेन्नईका मोइन अलीले दुई तथा महेश थिक्सना र दीपक चाहरले एक/एक विकेट लिए । त्यसअघि चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो ।
उसका शिवम दुवेले ४५ तथा अजिंक्या रहानेले ३५ रन बनाए । जितसँगै हैदराबादको चार खेलमा चार अङ्क भएको छ । हैदराबाद पाँचौ स्थानमा छ ।
त्यस्तै चार खेलमा चार अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ । आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ ।