Public Pana
प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता

काठमाडौं– गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध भएका ट्याक्सी व्यवसायीहरुको प्रभु बैंक लिमिटेडमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यबसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसायका तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरी उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन्। उक्त कार्यक्रममा फोन पे को तर्फबाटसमेत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। 

विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकद्वारा उपलब्ध गराइएको क्युआरमार्फत् बिना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।

गण्डकी ट्याक्सी व्यवसाय प्रालिमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यु आर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराइएको छ। निकट भविष्यमा अन्य ३५० भन्दा बढी चालकहरुलाई उपलब्ध गराइने कार्यक्रम रहेको छ।

कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरुका लागि क्यु आर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्यूनीकरणका उपायहरु सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्रसहित चेतनामुलक सामाग्री प्रस्तुति गरिएको थियो।

पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरुसमेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update