Public Pana
कोलकत्ताकाे दिल्ली माथि १०६ रनको फराकिलो जित

इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको दोस्रो ठूलो योगफल बनाउँदै कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्स विरुद्ध विशाल जित दर्ता गरेको छ । कोलकत्ताले दिल्ली माथि १०६ रनको फराकिलो जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको कोलकत्ताले निर्धारित २० ओaभरमा ७ विकेटको क्षतिमा २७२ रनको विशाल योगफल खडा गरेको थियो । यो आईपिएल इतिहासको दोस्रो ठूलो योगफल समेत हो । केही दिन अघि रोयल च्यालेन्जर्स बेंगलूरुले २०१३ मा बनाएको कीर्तिमान तोड्दै हैदराबादले मुम्बई इण्डियन्स विरुद्ध २७७ रन बनाएको थियो ।

आज कोलकत्ताका लागि सुनिल नरिनले ३९ बलमा ७ चौका र ७ छक्का सहित सर्वाधिक ८५ रन बनाए । सामान्यतः बलर रहेका उनलाई कोलकत्ताले ओपनर ब्याटरका रूपमा प्रयोग गरिरहेको छ ।

यस्तै अनकृष रघुवंशीले २७ बलमा ५४ रनको अर्धशतकीय इनिङ खेले । आन्द्रे रसेलले १९ बलमा ४१ रन बनाए भने रिङ्कु सिंहले ८ बलमा २६ रन बनाए ।

दिल्लीका सवै बलर महंगो सावित भएका थिए । एनरिक नोर्ट्जेले ४ ओभरमा ५९ रन खर्चिदै ३ विकेट लिए । यस्तै ईशान्त शर्माले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १-१ विकेट लिए ।

जवाफमा दिल्लीले १७.२ ओभरमा सवै विकेट गुमाउँदै १६६ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले २५ बलमा ४ चौका र ४ छक्का सहित ५५ रन बनाए । यस्तै ट्रिस्टन स्टब्सले ५४ रन जोडे । अन्य ब्याटरले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

कोलकत्ताका लागि वैभव अरोराले र वरुण चक्रवर्थिले समान ३-३, मिचेल स्टार्कले २ तथा आन्द्रे रसेल र सुनिल नरिनले समान १-१ विकेट लिए ।

जित सँगै कोलकत्ता ३ खेलमा सत प्रतिशत नतिजा सहित शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली भने ४ खेलमा १ जित सहित नवौं स्थानमा छ ।

आईपिएलमा भोलि हुने खेलमा गुजरात टाइटन्स र पञ्जाब किंग्स भिड्ने छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update