Public Pana
भारतमा फ्रेन्डसिप कप क्रिकेट : लगातार तेस्रो जित निकाल्दै फाइनलमा  पुग्याे नेपाल

टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपमा लगातार तेस्रो जित निकालेको छ। बुधबार गुजरातमाथि जित निकाल्दै जारी प्रतियोगिताको नेपाल फाइनलमा पुगेको छ।

बुधबार गुजरातसँग नेपालले ८ रनको जित निकाल्यो। यो जितसँगै नेपाल लिग चरणको अन्तिम खेल खेल्नु अगावै फाइनलमा पुगेको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको उत्कृष्ट अर्धशतकीय पारीमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। 

१८२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रनमा समेटियो। गुजरातका लागि कप्तान उमंग रोहितकुमारले ४७ रन जोड्दा हर्ष देसाईले नटआउट २९ रन जोडे। बलिङमा नेपालका सोमपाल कामी, गुल्सन झा र कुशल मल्लले २-२ विकेट लिए। 

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। दुईबीच १२५ रनको साझेदारी भयो। कुशलले ६७ रन र आसिफले ८५ रन जोडे। तर त्यसपछिका ब्याटर भने लगाातार आउट हुँदा नेपालले अन्तिममा सोचे जस्तो रन प्रहार गर्न सकेन।  

यसअघि नेपालले सुरुवाती दुई खेलमा जित निकालेको थियो। पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको नेपालले मंगलबार बरोडालाई २७ रनले पराजित गरेको थियो।  

 

 

गुजरातमा जारी सिरिजमा नेपालले गुजरात र बरोडासँग दुई दुई वटा टी-२० खेल खेल्नेछ। एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update