Public Pana
टस हारेर ब्याटिङ गर्दै, दीपेन्द्र र करण बेन्चमा

भारत भ्रमणमा रहेको नेपाली टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको तेस्रो खेल गुजरात क्रिकेट एसोसिएसनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। 

गुजरातको वापीमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हो।  नेपाली टोलीमा आज दुई परिवर्तन भएका छन्। करण केसी र दीपेन्द्रसिंह ऐरीलाई मुख्य प्रशिक्षक मोन्टी देसाईंले आराम दिएका छन्।

उनीहरूको स्थानमा प्रतिश जीसी र विवेक यादव खेल्ने छन्। जारी प्रतियोगितामा नेपाल अपराजित रहेको छ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि नेपालले आफ्नो उत्कृष्ट लयलाई समात्दै बरोडा क्रिकेट एसोसिएसनलाई २७ रनले पराजित गरेको थियो। योसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। 

जारी प्रतियोगितामा नेपाल शतप्रतिशत जितसहित ४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। गुजरात भने २ अंकसहित नेपाललाई पछ्याइरहेको छ।

गुजरातले दोस्रो खेलमा बरोडालाई ५ विकेटले पराजित गरेको थियो। समूह चरणका दुई शीर्ष टोली फाइनल खेल्ने छन्। फाइनल खेल चैत २५ गते हुने छ।

नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, अनिल साह, सन्दीप जोरा, गुल्शनकुमार झा, सोमपाल कामी, अभिनास बोहरा, प्रतिश जीसी र विवेककुमार यादव

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update