Public Pana
उप निर्वाचन : काग्रेसले उम्मेदबार टुङगाउनै सकेन

उपनिर्वाचन नजिकिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भने उम्मेदवार टुंगो लगाउन सकस परेको छ। स्थानीय, क्षेत्रीय र जिल्ला स्तरबाट उम्मेदवारहरु सिफारिस भएर आए पनि कसलाई पठाउने भन्ने विषयमा केन्द्रले टुंगो लगाउन नसकेको हो।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभामा उप निर्वाचन हुँदैछ। ती क्षेत्रमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न कांग्रेसले मंगलबार पनि बैठक राखेको थियो। तर उक्त बैठकले उम्मेदवारको टुंगो लगाउन सकेन।

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवार टुङ्गो लगाउन नसकिएको बताए। 

‘उम्मेदवारको विषयमा गहन छलफल भयो। उपनिर्वाचनका लागि पार्टीबाट सिफारिस भएर केन्द्रमा आएका आकांक्षीबीच बुधबार छलफल गरेर उम्मेदवार टुङ्गो लगाउने कुरा भएको छ,’ उनले भने।

उम्मेदवार टुङ्गो लगाउन बुधबार दिउँसो २ बजे पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको विश्वकर्माले जानकारी दिए। उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न सोमबार साँझ पनि कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेताहरुको छलफल भएको थियो। 

 

 

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेद्वार मनोनयनपत्र दर्ताको समय तोकेको छ। नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले  उम्मेदवार तय गरिसकेका छन्।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update